तीन महिनामै साढे ६ खर्बको आयात, व्यापार घाटा ५ खर्ब नाघ्यो

११ कार्तिक २०८३, बुधबार १६:२२

काठमाडौं । नेपालमा वस्तु आयातको बढ्दो क्रमले निरन्तरता पाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा मात्रै ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँको वस्तु आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको वस्तु आयात भएकोमा यस वर्ष आयात ३८.१८ प्रतिशतले बढेको हो।

मासिक तथ्यांक हेर्दा असोजमा मात्रै २ खर्ब ४६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। भदौमा २ खर्ब १४ अर्ब रुपैयाँको आयात भएको थियो। गत चैतदेखि हरेक महिना २ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात हुँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्यवृद्धि र पेट्रोलियम पदार्थको खपत बढ्नुले पनि आयातमा हुने खर्च बढाएको देखिन्छ। वस्तुको मूल्य बढ्दा समान परिमाणको सामान किन्न पनि बढी रकम खर्च गर्नुपर्ने हुन्छ भने पेट्रोलियम पदार्थको बढ्दो मागले आयातको रकम थप बढाउँछ।

यस अवधिमा वस्तु निर्यातमा पनि उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ७२ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको थियो। यससँगै निर्यात ५७.०३ प्रतिशतले बढेको छ। निर्यातको वृद्धिदर आयातको भन्दा बढी भए पनि कुल व्यापारको ठूलो हिस्सा अझै आयातमै निर्भर छ।

आयात र निर्यातबीचको अन्तरका कारण व्यापार घाटा भने बढेको छ। समीक्षा अवधिमा नेपालको व्यापार घाटा ३४.७१ प्रतिशतले वृद्धि हुँदै ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा यस्तो घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ थियो। निर्यात बढे पनि आयातको तुलनामा निर्यातको परिमाण कम हुँदा व्यापार घाटामा अपेक्षित सुधार हुन सकेको छैन।

पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ थियो। यसअनुसार कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेको छ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भने केही बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा १५.०२ प्रतिशत पुगेको छ। त्यसैगरी, आयातको हिस्सा ८६.५४ प्रतिशतबाट घटेर ८४.९८ प्रतिशतमा झरेको छ।

आयात र निर्यातको अनुपातमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ रुपैयाँको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ४३ पैसाको वस्तु आयात हुने गरेकोमा चालु आर्थिक वर्षमा यस्तो अनुपात घटेर ५ रुपैयाँ ६६ पैसामा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*