वीरगञ्ज भन्सारबाट मात्रै ३ खर्ब १२ अर्बको आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले विभिन्न भन्सार कार्यालयमार्फत ६ खर्ब ४६ अर्ब ७८ करोड २५ लाख रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। भन्सार कार्यालयगत तथ्याङ्कअनुसार साउनदेखि असोजसम्मको अवधिमा १ खर्ब १४ अर्ब २८ करोड ८४ लाख रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ।
भन्सार कार्यालयगत आयातमा वीरगञ्ज भन्सार कार्यालय सबैभन्दा अगाडि देखिएको छ। उक्त कार्यालयबाट मात्रै ३ खर्ब १२ अर्ब ४० करोड ६३ लाख रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ। यो कुल आयातको ४८.३० प्रतिशत हो।
त्यस्तै भैरहवा भन्सार कार्यालयबाट ९८ अर्ब ८१ करोड ८० लाख रुपैयाँभन्दा बढीको आयात भएको छ। यो कुल आयातको १५.२८ प्रतिशत हो। विराटनगर भन्सार कार्यालयबाट ७८ खर्ब ३३ करोड ७८ लाख रुपैयाँभन्दा बढीको आयात भएको छ जुन कुल आयातको १२.११ प्रतिशत हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ५१ अर्ब ६२ करोड ७२ लाख रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ। यसको हिस्सा कुल आयातको ७.९८ प्रतिशत रहेको छ। नेपालगञ्ज भन्सार कार्यालयबाट २३ अर्ब ९१ करोड ४२ लाख रुपैयाँभन्दा बढीको आयात हुँदा मेची भन्सारबाट २१ अर्ब ४० करोड १२ लाख रुपैयाँभन्दा बढीको वस्तु भित्रिएको छ।
निर्याततर्फ पनि वीरगञ्ज भन्सार कार्यालय नै पहिलो स्थानमा छ। उक्त कार्यालयबाट ४७ अर्ब ९२ करोड ७७ लाख रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ। यो कुल निर्यातको ४१.९४ प्रतिशत हो।
विराटनगर भन्सार कार्यालयबाट २९ अर्ब ३५ करोड ७४ लाख रुपैयाँभन्दा बढीको निर्यात भएको छ। यसको हिस्सा २५.६९ प्रतिशत रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट १२ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको निर्यात हुँदा भैरहवा भन्सारबाट ११ अर्ब ५१ करोड ७९ लाख रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ। त्यस्तै मेची भन्सार कार्यालयबाट ९ अर्ब ३३ करोड बढीको वस्तु निर्यात भएको छ। कुल निर्यातमा यसको हिस्सा ८.१६ प्रतिशत रहेको छ।











