इमान र नैतिकता छ भने तत्काल राजीनामा गर ! लोकतन्त्र र संविधान पुनर्बहाली गर !

नवराज न्यौपाने
१३ कार्तिक २०८३, शुक्रबार २३:२४

समाचार टिप्पणी

शुक्रबार नेपालका नयाँ शासकहरु प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङहरु मिलेर कालो इतिहाससहितको ताण्डव नृत्य प्रदर्शन गरे । लोकतन्त्र, विधिको शासन र कानुनी राज्यको धज्जी उडाउँदै दिन दहाडै स्वतन्त्र प्रेसमाथि धावा बोल्ने जुन दुस्साहस गरे त्यसले २१ औं शताब्दीमा पनि तानाशाहहरु ज्यूँदैछन् भन्ने तथ्य स्थापित गरिदिएको छ ।

शुक्रबार मध्यान्हपछि रातिसम्म बिचौलिया–न्यायाधीश बीचको सम्वाद र कुराकानी बाहिर ल्याउने पत्रकार र सञ्चार गृहमा प्रहरी लगाएर धरपकड मात्रै गरिएन स्वतन्त्र प्रेसमाथि नाङ्गो हस्तक्षेप गरेर १८१२ कालिन चोरतन्त्र (क्लेप्ट्रोक्रेसीको झझल्को दिन सफल भएका छन् । भ्रष्टाचारको अन्त्य, सुशासन, निष्पक्षको नारा लिएर सरकारमा पुगेका नयाँ शासकहरुले उल्टै राज्यको चौथो अंगको हुर्मत लिन शुक्रबार दिनभर जे जे मच्चाए त्यसले मुलुकमा संविधान र कानुन समाप्त हुन पुगेको अनुभूति भएको छ ।

बिचौलिया इनम सापकोटाले प्रधानमन्त्री बालेनको नाम भजाएर सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशलाई मुद्दामा सेटिङ गरेको सम्बन्धमा एक्सक्लूसिभ समाचार बाहिर आएपछि बालेन्द्र सरकारले संलग्न व्यक्तिहरुबारे छानविन गरी पत्रकारहरुमाथि धरपकड सुरु गरेको छ । समाचार लेखेकै आधारमा नेपाल प्रेसका विश्वमणि पौडेल, मोटिभेट न्यूजका शोभराज बराल र डिएनए न्यूजका धिरज बसनेतलाई न्यूजरुपभित्रै छिरेर प्रहरीले पक्राउ गर्यो भने नयाँ पत्रिका र दियोपोष्टको न्यूजरुपममा पुगेर पत्रकारहरु नवराज मैनाली र सुदिप विश्वकर्मालाई पक्राउ गर्ने प्रयास गरेको थियो । नेपाल पत्रकार महासंघसहितका पत्रकारहरुले नयाँ पत्रिकाको कार्यालयमै पुगेर सशक्त प्रतिवाद गरेपछि प्रहरी पछाडि हट्न बाध्य भएपनि अझै प्रेसमाथिको संकट टरेको छैन ।

लोकतन्त्रमा आधारभूत तत्वहरुः स्वतन्त्र, निष्पक्ष र आवधिक निर्वाचन, विधिको शासन, मानव अधिकार–नागरिक अधिकारको सुनिश्चतता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हो । आफ्नै कर्मचारीहरुलाई प्रहरी लगाएर सिंहदरवारमा उस्थित गराउने नैतिकहिन सरकारले सोही दिन स्वतन्त्र प्रेसमाथि धावा बालेर लोकतन्त्र समाप्त पार्ने र संविधान कब्जामा लिने दुस्साहस गरेको छ । नागरिक अधिकार र स्वतन्त्र प्रेसबिना कुनै पनि देशको शासन व्यवस्थालाई लोकतान्त्रिक शासन व्यवस्था मान्न सकिदैन । प्रेसमाथि समेत ‘नियन्त्रण’ गरेको भन्ने वित्तिकै अन्तर्राष्ट्रिय समुदायले हेर्ने दृष्टिकोण तानाशाही लादिएको हुनसक्ने आँखाबाट हेर्दछन् । यसले नेपालको अबको यात्रा लोकतान्त्रिक र विधिको शासन भनेर कसैले विश्वास गर्न सक्दैन ।

जनतासँग भोट माग्दा निष्पक्ष, पारदर्शिता, भ्रष्टाचारको अन्त्य र आर्थिक समृद्धि गर्ने बाचा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार सुरुदेखि नै गलत दिशामा अघि बढिरहेको थियो । मानव अधिकारको १९४८ को घोषणा पत्रको आर्टिकल ५, १२, १७ र २५ विपरित सुकुम्बासीमाथि बर्बर दमनमा उएिको थियो भने अहिले स्वतन्त्र प्रेसमाथि निर्लज्ज र नाङ्गो हस्तक्षेप गरेर तानाशाही शासन व्यवस्थाको अभ्यास गरेको स्पष्ट संकेत दिइसकेको छ ।
प्रहरीलाई आदेश दिँदा गृहमन्त्री र प्रधानमन्त्रीसँगै बसेर आदेश दिने अनि जब अप्ठेरो पर्छ, प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गरेको भन्दै नाटक मञ्चन गरिएको छ, यसले झनै खतरनाक संकेतहरु देखाएको छ । देशको प्रधानमन्त्रीको कुर्सीमा बसेकाहरुलाई थाहा नदिई कुनै पनि प्रहरी सञ्चार गृहमा प्रवेश गर्न सम्भव नै छैन ।

सुकुम्बासीमाथि गरिएको निर्मम दमनदेखि प्रेसमाथि नाङ्गो हस्क्षेप र धरपकड सम्म आईपुग्दा सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाह र सुदन गुरुङको नैतिकता र इमान सम्पूर्ण रुपले गुमाउन पुगेका छन् । जनतासामू गरेको प्रतिबद्धता अनुसार बिचौलियासँग सेटिङ गर्नेलाई कारवाही गर्नुपर्नेमा पत्रकार र सञ्चार गृहमा प्रहरी पठाएर बालेनले आफ्नो अशोभनीय कार्यको प्रमाण नष्ट गर्न खोजेको दिनकोघाम जत्तिकै छर्लङ्ग हुन आएको छ ।

राजनीतिमा कांग्रेस–एमाले–माओवादीहरुले बेइमानी गरेकैले जनताले वैकल्पिक राजनीतिक पार्टीको रुपमा बालेन एण्ड कम्पनीलाई जिताउन घण्टीमा मतदान गरेको यथार्थ सबैसामू स्पष्ट छ । जनमत अनुसार विधिको शासन, सुशासन, विकास समृद्धिमा केन्द्रीत हुनुपर्नेमा कर्तव्यच्यूत हुँदै मानव अधिकारको विश्वव्यापी अधिकारलाई समेत कुल्चदै कहिले सुकुम्बासीसँग बदला लिन पुगे भने अहिले पत्रकारलाई तर्साएर सत्ता टिकाउँछु भन्ने भ्रममा अघि बढिरहेका छन् । यसले बालेन शाह र सुदन गुरुङहरुको मात्रै पतनको बाटो देखाएको छैन, रास्वपाको राजनीतिक भविष्यमाथि पनि प्रश्न चिन्ह उठ्न पुगेको छ ।

विगतमा स्वतन्त्र प्रेससँग पौठेजोरी खेल्नेहरु अहिले इतिहास भइसकेका छन् । स्वतन्त्र प्रेस केही पत्रकार वा कुनै समुहको निजि पेवा होइन र हुनसक्दैन । स्वतन्त्र प्रेस सधैं जनताको पक्षमा हुन्छन् र आफूले विगतमा पुरानो सत्तालाई त्यही स्वतन्त्र प्रेसको अधिकार प्रयोग गरी सत्ता छिनेको यथार्थ बिर्सेर दुई तिहाईको नाममा मैमत्त भएको नयाँ सरकारले शुक्रबारे ताण्डव दृष्य प्रदर्शनले बालेनको एक्सनमा ताली पिट्ने जमातलाई भव्य पार्टी गर्ने, बियर स्प्रे गर्ने मौका त मिल्ला देश, लोकतन्त्र र विधिको शासन भने समाप्त हुन पुगेको छ ।

यति ठूलो काण्ड घटिसक्दा पनि सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ राजीनामा गर्न आनाकानी गरिरहेका छन् । भ्रष्टाचार, सेटिङ र नैतिकताको मामलामा उतिबेलाका केपीलाई समेत अहिलेका बालेनले माथ गर्न पुगेका छन् ।

केपी ओलीले ७० करोडको काण्डको अडियो सार्वजनिक गरेपछि अडियो सार्वजनिक गर्ने पत्रकारलाई कारवाही गरेनन् बरु उल्टै तत्कालिन सञ्चार मन्त्री गोकुल बास्कोटलाई बर्खास्त गरे । तत्कालिन कृषि मन्त्री हरि प्रसाद पराजुलीले २०७२ साल असार १५ को दिन पारेर महिलासँग गरेको अचम्मको व्यवहार खिचेर भाइरल पार्ने पत्रकारलाई पक्राउ गर्न केपी ओलीले प्रहरी पठाएनन् बरु कृषि मन्त्री पराजुलीको राजिनामा नै मागेर बर्खास्त गरे ।

२०७५ सालमा बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुबारेमा विवादास्पद अभिव्यक्ति दिने तत्कालिन कानुन मन्त्री शेर बहादुर तामाङलाई बर्खास्त गरे तर तत्कालिन प्रधानमन्त्री केपी ओलीले समाचार लेख्ने पत्रकारलाई पक्राउ वा धरपकड गरेनन् । २०८२ असारमा तत्कालिन केपी ओली नेतृत्वको सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता घुस डिल गरेको अडियो पत्रकारले सार्वजनिक गरे । त्यसपछि ति मन्त्रीलाई राजिनामा नदिए बर्खास्त गर्ने चेतावनी दिएपछि राजिनामा मात्रै दिन बाध्य भएनन् अख्तियारको छानविन र पक्राउ नै परे । उक्त घुस डिलको अडियो बाहिर ल्याउने पत्रकारलाई प्रहरीले घेरा हालेर समाचार कहाँबाट ल्याएर भनेर खोजेन पत्रकार निर्धक्क समाचार लेखिरहे । यर्थात सेटिङ, घुस डिलको मामलामा केपी ओलीको जत्ति पनि बालेनले नैकिता देखाउन सकेनन् ।

अहिलेका बालेन्द्र शाहले घुसडिल काण्डहरुमा नैतिकता प्रदर्शनमा केपी ओली जत्ति पनि हुन सकेनन् । नेपालको राजनीतिमा सबैभन्दा गन्हाएका केपी ओली जति पनि हुन नसक्ने बालेनहरुले देशमा विधिको शासन, नैतिकता र इमान्दारिताको ढ्वाङ् पिटिरहेका छन् । अनि जनता पनि त्यसैमा रमाइरहेका छन्, ताली पिट्दैछन् ।

भिभिआईपी महिलासँगको सम्बन्ध र अस्पतालसम्म पुगेको काण्डबारे समाचार लेख्ने पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातिसम्म प्रहरी पठाएर दिनसम्म दुःख दिने यिनै बालेन सरकार हुन् । अनि सापकोटा थरका एक बिचौलियाले कसरी न्यायालयसम्म सेटिङ हान्न सफल भए भनेर एक्सक्लुसिभ समाचार लेख्न पत्रकारहरुलाई पक्राउ गर्न न्यूजरुमसम्मै प्रहरी पठाएर नयाँ इतिहास रचेका छन् । पत्रकार किन डराउथे, जब गिरफ्तारी दिन तयार भए अनि प्रधानमन्त्री कार्यालयको हस्तक्षेप भन्दै नाटक मञ्चन गरेर प्रहरीलाई दोष थोपर्ने काम गरेका छन् । अब फेरी फेसबुकमा भन्न लगाउनेछन्, ‘वा यस्तो पो नैतिकता !’

बालेन शाह र सुदन गुरुङहरुको चर्चिकला भो, अब अति भो, नैतिकताको रोटी खाएका छौ, इमानको रोटी खाएका छौ  भने महिना वा दिन होइन एक एक घण्टा गनेर राजिनामा देऊ र लोकतन्त्र र संविधान पुनर्बहाली गर ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*