तीन महिनामै राष्ट्रिय वाणिज्य बैंकले कमायो १ अर्ब ६४ करोड, अधिकांश सूचकमा सुधार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा लोभलाग्दो सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको ३ महिनामा बैंकले १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५९ करोड ८७ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी ३७.४६ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी २ अर्ब ९२ करोड ५ लाख रुपैयाँ रहेको थियो ।
बैंकको वितरणयोग्य नाफामा १ अर्ब ३७ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २१ करोड ४७ लाख २५ हजार रुपैयाँ मात्र रहेको थियो ।
यसैगरी बैंकको सञ्चालन नाफा १०८.१६ प्रतिशतले उकालो लागेर २ अर्ब ३५ करोड १८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको पहिलो त्रैमासमा ८५ करोड २४ लाख १० हजार रुपैयाँमा सीमित थियो ।
कर्जा प्रवाह २ खर्ब ४७ अर्ब ९ करोड ६० लाख रुपैयाँ र कुल निक्षेप संकलन ४ खर्ब ५१ अर्ब ३९ करोड ७१ लाख रुपैयाँ कायम भएको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.८३ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३.८९ प्रतिशतमा पुगेको छ।











