नेपाल फाइनान्सको नाफा २ करोड ९९ लाख ऋणात्मक, खराब कर्जा अझै उच्च

काठमाडौँ । नेपाल फाइनान्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घाटा घटाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीको खुद घाटा २ करोड ९९ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ९५ लाख ६० हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनीको वित्तीय अवस्थामा सुधार आउनुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकममा आएको कमीले मुख्य भूमिका खेलेको देखिन्छ। पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड ४९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ करोड ८० लाख रुपैयाँ थियो। त्यस्तै, कर्जा नोक्सानी व्यवस्थाका लागि गरिएको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको करिब ५ करोड ३८ लाख रुपैयाँबाट घटेर २ करोड ३७ लाख रुपैयाँमा झरेको छ।
पहिलो त्रैमासको वित्तीय विवरणमा कम्पनीको कुल सञ्चालन आम्दानी ३ करोड ७५ लाख २४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ करोड २३ लाख ९१ हजार रुपैयाँ थियो। ब्याज आम्दानी ९ करोड १५ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने ब्याज खर्च ५ करोड ६६ लाख ५१ हजार रुपैयाँ रहेको छ।
यद्यपि कम्पनीको सञ्चालन खर्च र अन्य खर्चको दबाब भने कायमै देखिएको छ। कर्मचारी खर्चमा १ करोड ५१ लाख ४६ हजार रुपैयाँ, अन्य सञ्चालन खर्चमा १ करोड १३ लाख ४० हजार रुपैयाँ तथा ह्रासकट्टी र परिशोधनमा २० लाख ९० हजार रुपैयाँ खर्च भएको छ। यी खर्च कटाउँदा कम्पनीको सञ्चालन नोक्सानी १ करोड ४८ लाख रुपैयाँ रहेको छ। यसबाहेक गैरसञ्चालन खर्चतर्फ १ करोड ५१ लाख ५० हजार रुपैयाँ देखिएको छ। फलस्वरूप करअघिको नोक्सानी तथा अवधिको खुद नोक्सानी दुवै २ करोड ९९ लाख ५२ हजार रुपैयाँ पुगेका छन्।
कम्पनीको कर्जा तथा निक्षेप परिचालनमा भने खासै ठूलो परिवर्तन देखिएको छैन। असोज मसान्तसम्म ग्राहकबाट संकलित निक्षेप ४ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप ४ अर्ब ४५ करोड ८८ लाख रुपैयाँ थियो। त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापटी २ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ अर्ब ३८ करोड रुपैयाँ थियो। कम्पनीको कुल सम्पत्ति भने अघिल्लो वर्षको ५ अर्ब ६८ करोड ३८ लाख रुपैयाँबाट घटेर ५ अर्ब ६४ करोड ६२ लाख रुपैयाँ कायम भएको छ।
कर्जा गुणस्तरका दृष्टिले कम्पनीको अवस्था भने थप चुनौतीपूर्ण देखिएको छ। निष्क्रिय कर्जा अनुपात (एनपीएल) अघिल्लो वर्षको १३.१० प्रतिशतबाट बढेर १३.७४ प्रतिशत पुगेको छ।
वित्तीय सूचकतर्फ कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ऋणात्मक ३ रुपैयाँ ८५ पैसा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ऋणात्मक ७ रुपैयाँ ८४ पैसा थियो।











