बस्ती पस्ने जंगली हात्तीको निगरानी गर्न शुक्लाफाँटामा रेडियो कलर लगाइने

काठमाडौं । बस्तीमा पसेर जनधन र बालीनालीमा क्षति पुर्याउँदै आएका जंगली हात्तीको निगरानी गर्न कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रेडियो कलर लगाउने प्रक्रिया अघि बढाइएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। रेडियो कलरबाट हात्तीको आवतजावतसम्बन्धी जानकारी संकलन गरी मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्ने उद्देश्य राखिएको छ।
रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन र विश्लेषण गरी हात्ती कुन क्षेत्रमा आवतजावत गरिरहेका छन् र बस्तीमा पस्ने जोखिम कहाँ छ भन्ने पूर्वानुमान गर्न सकिने कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बताइन्। यसबाट स्थानीय बासिन्दालाई समयमै सचेत गराउन र मानवीय क्षति, बालीनाली तथा भौतिक सम्पत्तिमा हुने नोक्सानी कम गर्न सहयोग पुग्ने उनको भनाइ छ।
मन्त्री चौधरीका अनुसार रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष निगरानीमा पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरिनेछ। हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट पट्टा जडान गर्ने र त्यसपछि पनि नियमित अनुगमन गर्ने तयारी छ।











