बीमा क्षेत्रका कर्मचारी तलब र पदोन्नतिप्रति असन्तुष्ट, सहकर्मीको सहयोग भने सन्तोषजनक

काठमाडौं । नेपालका बीमा कम्पनीमा कार्यरत कर्मचारीहरू सहकर्मीको सहयोग र कामको जिम्मेवारीप्रति सन्तुष्ट देखिए पनि तलब, सेवा–सुविधा र पदोन्नति प्रक्रियाप्रति असन्तुष्ट रहेको एक अध्ययनले देखाएको छ । नेपाल बीमा प्राधिकरणको अनुसन्धान तथा तथ्याङ्क शाखाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कर्मचारीको समग्र कार्यसन्तुष्टि सकारात्मक भए पनि आर्थिक सुविधा र वृत्ति विकासका अवसरमा सुधार आवश्यक रहेको औंल्याइएको छ ।
‘इम्प्लोयी जब स्याटिस्फ्याक्सन इन नेपाल्स इन्स्योरेन्स सेक्टर’ नामक अध्ययन प्रतिवेदनमा बीमा क्षेत्रका ३ हजार ७६७ कर्मचारीको प्रतिक्रिया समेटिएको छ । पाँच अङ्कको मापदण्डमा कर्मचारीको औसत कार्यसन्तुष्टि ३.९२ रहेको छ । सहकर्मीको सहयोगले ४.३८ अङ्क प्राप्त गरेको छ भने सुपरिवेक्षकको सहयोग र कार्यस्थलमा सम्मानको अवस्था पनि तुलनात्मक रूपमा राम्रो देखिएको प्रतिवेदनमा उल्लेख छ ।
तर तलब र सुविधासम्बन्धी विषयमा कर्मचारी असन्तुष्ट रहेको पाइएको छ । अन्य वित्तीय संस्थाको तुलनामा आफ्नो तलबप्रतिको सन्तुष्टि सबैभन्दा कम २.८५ अङ्क रहेको छ । बिदा, उपचार र कर्मचारी ऋणजस्ता सुविधाले २.८७ अङ्क पाएका छन् भने आधारभूत तलब तथा भत्ताको पर्याप्तताले ३.०३ अङ्क प्राप्त गरेको छ । प्रतिवेदनअनुसार ४२ प्रतिशत कर्मचारी अन्य वित्तीय संस्थाको तुलनामा आफ्नो तलबप्रति असन्तुष्ट छन् ।
पदोन्नतिको निष्पक्षतासमेत कमजोर पक्षका रूपमा देखिएको छ । यस विषयले ३.०३ अङ्क मात्रै पाएको छ । उच्च कार्यकारी तहमा महिलाको पदोन्नति दर शून्य रहेको अध्ययनमा उल्लेख छ । कर्मचारीहरूले योग्यता र कार्यसम्पादनका आधारमा पारदर्शी पदोन्नति, प्रतिस्पर्धात्मक तलब तथा नियमित तालिमको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।
अध्ययनले कार्यबोझ व्यवस्थापन, कार्यस्थलको वातावरण र काम तथा व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्ने विषयमा पनि सुधार आवश्यक देखाएको छ । करिब १४ प्रतिशत उत्तरदाताले कुनै न कुनै प्रकारको कार्यस्थल दुव्र्यवहार वा दबाब भोगेको बताएका छन् । विशेषगरी उच्च शैक्षिक योग्यता भएका कर्मचारी, सहायक तहका कर्मचारी र लघु बीमा कम्पनीमा कार्यरत कर्मचारीको सन्तुष्टि तुलनात्मक रूपमा कम पाइएको छ ।
प्रतिवेदनले तलब तथा सुविधाको पुनरावलोकन, निष्पक्ष पदोन्नति प्रणाली, कर्मचारीको क्षमता विकास, शाखा कार्यालयको भौतिक तथा डिजिटल पूर्वाधार सुधार र सुरक्षित कार्य वातावरण निर्माण गर्न सुझाव दिएको छ । साथै कार्यालय समयबाहिर कामको दबाब घटाउन र कर्मचारीलाई पर्याप्त बिदा उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ ।











