नेपालमा १२ हजारभन्दा बढीको पोषण अवस्था जाँचिने

१६ कार्तिक २०८३, सोमबार १५:३१

काठमाडौं । नेपालमा बालबालिका, किशोरकिशोरी र महिलासहित विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था पत्ता लगाउन ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन गरिने भएको छ। सर्वेक्षणबाट शरीरमा आवश्यक भिटामिन तथा खनिज तत्त्वको कमी र रक्तअल्पताको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरको तथ्याङ्क संकलन गरिनेछ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा हुने सर्वेक्षण सन् २०२६ अप्रिलदेखि २०२७ मार्चसम्म देशभर सञ्चालन हुनेछ। सातै प्रदेशका हिमाल, पहाड र तराई क्षेत्र समेटिने अध्ययनमा २८० समूहका ८ हजार ४०० घरपरिवारका करिब १२ हजार २३६ जनालाई सहभागी गराइनेछ।

सर्वेक्षणमा भिटामिन ‘ए’, भिटामिन ‘बी१२’, आइरन, आयोडिन, जिङ्क र फोलेटको अवस्था परीक्षण गरिनेछ। साथै रक्तअल्पता, शारीरिक वृद्धि, पोषण अवस्था तथा सरकारी पोषण कार्यक्रमको पहुँच र प्रभावकारितासमेत अध्ययन गरिनेछ।

मन्त्रालयका अनुसार यसमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका, ६ देखि ९ वर्षका बालबालिका, १० देखि १९ वर्षका किशोरकिशोरी, १५ देखि ४९ वर्षका महिला र गर्भवती महिलासहित तोकिएका समूहलाई समेटिनेछ। सर्वेक्षणका लागि २०५ जना जनशक्ति परिचालन गर्ने तयारी छ। उनीहरूलाई नोभेम्बर १७ देखि २८ सम्म तालिम दिइनेछ।

यसअघि सन् २०१६ मा गरिएको राष्ट्रिय सर्वेक्षणले विभिन्न उमेर समूहमा सूक्ष्म पोषक तत्त्वको कमी र रक्तअल्पताको समस्या देखाएको थियो। करिब एक दशकपछि हुन लागेको नयाँ सर्वेक्षणले पोषण सुधारका कार्यक्रमको प्रभाव मूल्याङ्कन गर्न र आगामी नीति तथा योजना तय गर्न सहयोग पुग्ने स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री नीशा मेहताको सचिवालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*