बीमाको बजारमा महिला अगाडि, नेतृत्वको कुर्सीमा अझै पुरुषकै पकड

काठमाडौं । बीमा कम्पनीका ग्राहक र अभिकर्ताका रूपमा महिलाको उपस्थिति बढ्दै गएको छ। तर, यही क्षेत्रको नेतृत्व र निर्णय प्रक्रियामा भने महिलाको पहुँच अझै कमजोर देखिएको छ। नेपाल बीमा प्राधिकरणको एक अध्ययनले बीमा क्षेत्रमा महिला सहभागिता र नेतृत्वबीचको असमान अवस्था उजागर गरेको छ।
प्राधिकरणले सार्वजनिक गरेको लैंगिक समावेशितासम्बन्धी अध्ययन प्रतिवेदनअनुसार जीवन बीमाका कुल पोलिसीधारकमध्ये ५७ प्रतिशत महिला छन्। तर, जीवन बीमा कम्पनीहरूको कार्यकारी व्यवस्थापन तहमा महिलाको प्रतिनिधित्व १३ प्रतिशतमा सीमित छ।
‘एक्सेस टु इन्स्योरेन्स इनिसिएटिभ’ फेमा–मिटर’ ढाँचामा आधारित रहेर गरिएको उक्त अध्ययन ३५ वटा बीमा कम्पनीमा गरिएको हो। अध्ययनमा जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीहरूको ग्राहक सहभागिता, कर्मचारी संरचना र नेतृत्व तहमा महिलाको उपस्थितिलगायतका विषय विश्लेषण गरिएको छ।
ग्राहक बन्न महिलाको आकर्षण, प्रिमियममा पुरुष अगाडि
प्रतिवेदनअनुसार परम्परागत जीवन बीमाका कुल पोलिसीधारकमध्ये ५७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुष छन्। बीमित जीवनको संख्यामा महिलाको हिस्सा ५८ प्रतिशत पुगेको छ।
लघु जीवन बीमामा त महिलाको सहभागिता ६२ प्रतिशत रहेको छ। यसले जीवन बीमा सेवाप्रति महिलाको आकर्षण र पहुँच बढ्दै गएको संकेत गर्छ।
यद्यपि, प्रिमियम भुक्तानीको औसत रकममा पुरुष अगाडि छन्। पुरुषले औसत ४२ हजार ५९२ रुपैयाँ प्रिमियम तिर्दा महिलाले औसत २१ हजार ५४ रुपैयाँ मात्रै भुक्तानी गर्ने गरेको अध्ययनले देखाएको छ।
त्यस्तै, दाबी गर्ने सम्भावना पुरुषमा ३।८ प्रतिशत र महिलामा १।८ प्रतिशत रहेको छ।
निर्जीवन बीमामा महिलाको पहुँच अझै सीमित
जीवन बीमामा महिलाको सहभागिता बलियो देखिए पनि निर्जीवन बीमामा भने अवस्था फरक छ।
लघु निर्जीवन बीमाअन्तर्गत साना व्यवसाय बीमाका पोलिसीधारकमध्ये ५९ प्रतिशत पुरुष र १६ प्रतिशत महिला रहेका छन्। बाँकी २५ प्रतिशतको लैंगिक विवरण उपलब्ध छैन।
बीमितको संख्यामा पुरुषको हिस्सा ६६ प्रतिशत र महिलाको १७ प्रतिशत मात्रै रहेको छ। यसले महिला उद्यमी तथा साना व्यवसायीलाई निर्जीवन बीमाको पहुँचमा ल्याउन थप प्रयास आवश्यक रहेको देखाएको छ।
अभिकर्तामा ४४ प्रतिशतभन्दा बढी महिला
बीमा कम्पनीको नेतृत्वमा महिलाको उपस्थिति कमजोर भए पनि अभिकर्ताका रूपमा उनीहरूको सहभागिता उल्लेख्य छ।
अध्ययनअनुसार जीवन बीमाका इजाजतपत्र प्राप्त अभिकर्तामध्ये ४४ प्रतिशत महिला छन्। लघु जीवन बीमामा ४६ प्रतिशत र लघु निर्जीवन बीमामा ४४ प्रतिशत अभिकर्ता महिला रहेका छन्।
यसले बीमा बजार विस्तारमा महिलाको भूमिका महत्वपूर्ण रहेको देखाउँछ। तर, अभिकर्ताका रूपमा काम गरिरहेका महिलालाई संस्थागत नेतृत्वसम्म पुर्याउने विषयमा भने कम्पनीहरूले पर्याप्त प्रगति गर्न सकेका छैनन्।
सञ्चालक समितिदेखि व्यवस्थापनसम्म पुरुषकै बाहुल्य
बीमा कम्पनीहरूको नेतृत्व संरचनामा पुरुषको वर्चस्व स्पष्ट देखिएको छ।
जीवन बीमा कम्पनीहरूको सञ्चालक समितिमा पुरुषको प्रतिनिधित्व ७८ प्रतिशत र महिलाको २२ प्रतिशत छ। कार्यकारी व्यवस्थापन तहमा पुरुष ८७ प्रतिशत हुँदा महिला १३ प्रतिशत मात्रै छन्। व्यवस्थापक तहमा महिलाको उपस्थिति २६ प्रतिशत रहेको छ।
निर्जीवन बीमा कम्पनीहरूको सञ्चालक समितिमा ८१ प्रतिशत पुरुष र १९ प्रतिशत महिला छन्। कार्यकारी व्यवस्थापनमा पनि पुरुषको हिस्सा ७८ प्रतिशत र महिलाको २२ प्रतिशत रहेको छ।
यसले बीमा क्षेत्रमा महिलाले ग्राहक र अभिकर्ताका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि संस्थागत निर्णय प्रक्रियामा उनीहरूको सहभागिता कमजोर रहेको पुष्टि गर्छ।
समान अवसरको नीति, तर पारिश्रमिकमा समीक्षा छैन
अध्ययनले बीमा कम्पनीहरूमा समान अवसरसम्बन्धी रोजगार नीति रहेको देखाए पनि लैंगिक आधारमा पारिश्रमिक पुनरावलोकन गर्ने अभ्यास नभएको औंल्याएको छ।
अध्ययनमा सहभागी जीवन तथा लघु जीवन बीमा कम्पनीहरूले समान अवसरसम्बन्धी नीति लागू गरेको बताएका छन्। तर, महिला र पुरुषबीचको पारिश्रमिक अन्तर पहिचान तथा पुनरावलोकन गर्ने अभ्यास कुनै पनि कम्पनीमा नरहेको प्रतिवेदनमा उल्लेख छ।
महिला नेतृत्व विकासमा जोड दिन प्राधिकरणको सुझाव
बीमा क्षेत्रमा लैंगिक असमानता घटाउन प्राधिकरणले कम्पनीहरूमा मानक लैंगिक प्रतिवेदन प्रणाली लागू गर्न सुझाव दिएको छ। महिला र पुरुषको सहभागितासम्बन्धी छुट्टाछुट्टै तथ्यांक संकलन तथा विश्लेषण गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ।
त्यस्तै, महिलाको नेतृत्व क्षमता विकासका लागि तालिम, मेन्टरिङ र पदोन्नतिमा समावेशी नीति अपनाउनुपर्ने सुझाव दिइएको छ। निर्जीवन बीमामा महिला उद्यमी, साना व्यवसायी तथा कृषकलाई लक्षित बीमा योजना विस्तार गर्न पनि प्राधिकरणले जोड दिएको छ।
बीमा बजारमा महिलाको सहभागिता ग्राहक र अभिकर्ताका रूपमा विस्तार भइरहँदा कम्पनीको नेतृत्व तहमा उनीहरूको प्रतिनिधित्व बढाउन नसक्नु चुनौतीका रूपमा देखिएको छ। अब बीमा कम्पनीहरूले महिला सहभागितालाई संख्यामा मात्र सीमित नराखी निर्णय प्रक्रिया र नेतृत्वमा समेत समान अवसर सुनिश्चित गर्नुपर्ने देखिन्छ।











