नसर्ने रोग नियन्त्रण गर्न सरकारको जोड, विद्यालयदेखि नै स्वास्थ्य शिक्षा लागू गर्ने तयारी

१८ कार्तिक २०८३, बुधबार ११:११

काठमाडौं । सरकारले क्यान्सर, मधुमेह, उच्च रक्तचाप तथा मुटुरोगजस्ता नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि उपचारमा मात्र निर्भर नभई जनचेतना, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली प्रवद्र्धनमा जोड दिने भएको छ। यसका लागि बहुक्षेत्रीय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिने सरकारको तयारी छ।

यसै विषयमा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा छलफल भएको थियो। बैठकमा नसर्ने रोगको वर्तमान अवस्था, यसको रोकथाम तथा नियन्त्रणका उपाय र विभिन्न सरकारी निकायबीचको समन्वयबारे छलफल गरिएको हो।

बैठकले नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि स्वास्थ्य प्रवद्र्धनलाई प्राथमिकता दिने निष्कर्ष निकालेको छ। बहुक्षेत्रीय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र यसको प्रगति तथा प्रभावकारिताबारे नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णयसमेत भएको छ।

छलफलमा विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने, स्थानीय तहसँग समन्वय गरी नसर्ने रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने तथा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो। साथै, विशेषज्ञ चिकित्सकलाई देशमै टिकाइराख्ने उपायबारे पनि छलफल भएको जनाइएको छ।

सरकारले सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खानेकुरा तथा अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख जोखिमका रूपमा लिएको छ। यस्ता वस्तुको प्रयोग तथा बिक्री वितरणलाई प्रभावकारी रूपमा नियन्त्रण र नियमन गर्नुपर्नेमा बैठकले जोड दिएको छ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथामलाई प्राथमिकता दिने रणनीति अघि सारेको छ। नियमित स्वास्थ्य परीक्षण, जनचेतना अभिवृद्धि र स्वस्थ जीवनशैली प्रवद्र्धनमार्फत रोग लाग्न नदिने तथा समयमै पहिचान गर्ने सरकारको लक्ष्य छ। नेपालले सन् २०३० सम्ममा नसर्ने रोगका कारण हुने अकाल मृत्यु एक तिहाइले घटाउने दिगो विकास लक्ष्यप्रति प्रतिबद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*