विकास बैंकको औसत एनपीएल ५.८१ प्रतिशत, तीनको घट्दा पाँच बैंकको बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रियस्तरका विकास बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) अनुपातमा सामान्य वृद्धि देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आठ विकास बैंकको औसत निष्क्रिय कर्जा अनुपात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.०७ प्रतिशत बिन्दुले बढेर ५.८१ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको असोज मसान्तसम्म यी बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ५.७४ प्रतिशत रहेको थियो ।
बैंकहरूले प्रवाह गरेको कर्जामध्ये समयमा साँवा तथा ब्याज भुक्तानी हुन नसकी निष्क्रिय कर्जामा वर्गीकरण हुने कर्जाको अनुपात बढ्नुलाई बैंकिङ क्षेत्रका लागि चुनौतीपूर्ण अवस्थाका रूपमा लिइन्छ । वित्तीय विवरणले अधिकांश विकास बैंकमा यस्तो कर्जाको अनुपात बढेको देखाएको छ । आठमध्ये पाँच बैंकको निष्क्रिय कर्जा अनुपात वृद्धि हुँदा तीन बैंकले भने गत वर्षको तुलनामा सुधार गर्न सफल भएका छन् ।
समीक्षा अवधिमा सबैभन्दा कम निष्क्रिय कर्जा अनुपात कामना सेवा विकास बैंकको रहेको छ । बैंकको यस्तो अनुपात गत आर्थिक वर्षको असोज मसान्तमा ४.४१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.९३ प्रतिशतमा झरेको छ । यो गत वर्षको तुलनामा ०.४८ प्रतिशत बिन्दुको सुधार हो ।

त्यस्तै लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकले पनि निष्क्रिय कर्जा व्यवस्थापनमा सुधार गरेका छन् । लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्षको असोजसम्म ७.७८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर ६.९९ प्रतिशतमा आएको छ । बैंकले ०.७९ प्रतिशत बिन्दुको सुधार गरेको हो । यसैगरी ज्योति विकास बैंकको यस्तो अनुपात ७.९७ प्रतिशतबाट घटेर ७.१७ प्रतिशतमा सीमित भएको छ । बैंकको निष्क्रिय कर्जा अनुपातमा ०.८० प्रतिशत बिन्दुको सुधार देखिएको छ । तीन बैंकमध्ये ज्योति विकास बैंकले सबैभन्दा बढी सुधार गरेको छ ।
यता पाँच विकास बैंकको भने निष्क्रिय कर्जा अनुपात बढेको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको यस्तो अनुपात गत आर्थिक वर्षको असोज मसान्तमा ४.६१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सामान्य वृद्धि हुँदै ४.७१ प्रतिशत पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.१० प्रतिशत बिन्दुले बढेको हो । मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा अनुपात भने ४.०३ प्रतिशतबाट बढेर ४.७३ प्रतिशत पुगेको छ । यससँगै यस बैंकको खराब कर्जा अनुपातमा ०.७० प्रतिशत बिन्दुको वृद्धि देखिएको छ ।
त्यस्तै गरिमा विकास बैंकको निष्क्रिय कर्जा अनुपात ४.७३ प्रतिशतबाट बढेर ४.८१ प्रतिशत पुगेको छ । गत वर्षको तुलनामा बैंकको यस्तो अनुपात ०.०८ प्रतिशत बिन्दुले बढेको हो । महालक्ष्मी विकास बैंकको अवस्था भने तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण देखिएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्षको असोज मसान्तमा ५.५० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ६.४९ प्रतिशत पुगेको छ । यो एक वर्षको अवधिमा ०.९९ प्रतिशत बिन्दुको वृद्धि हो । आठ विकास बैंकमध्ये महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा अनुपातमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ ।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा अनुपात पनि उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.८६ प्रतिशत रहेको बैंकको यस्तो अनुपात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७.६४ प्रतिशत पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.७८ प्रतिशत बिन्दुले बढेको हो ।
समग्र तथ्यांकलाई हेर्दा विकास बैंकहरूको निष्क्रिय कर्जा व्यवस्थापनमा एकरूपता देखिएको छैन । कामना सेवा, लुम्बिनी र ज्योति विकास बैंकले खराब कर्जा अनुपात घटाउन सफल हुँदा बाँकी पाँच बैंकमा यस्तो अनुपात बढेको छ । निष्क्रिय कर्जा अनुपात बढ्नुले बैंकको कर्जा असुलीमा देखिएको चुनौतीलाई मात्र नभई सम्भावित कर्जा जोखिम र नाफामा दबाब पर्न सक्ने जोखिम रहन्छ । यस्तो कर्जा बढ्दै जाँदा बैंकले सम्भावित नोक्सानी व्यवस्थापनका लागि थप रकम छुट्याउनुपर्दा वितरणयोग्य नाफामा समेत यसको प्रभाव देखिने सम्भावना रहन्छ ।











