छठ मनाउन सर्लाही जादै गरेका यात्रु सवार इभी माइक्रो भिमफेदीमा दुर्घट्नाग्रस्त, १० जनाको निधन

२६ कार्तिक २०८३, बिहीबार ०९:५७

हेटौडा । काठमाडौंबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेका यात्रुहरु लिएर सवार एक इभी माइक्रो बस आज विहानै मकवानपुर जिल्लाको भिमफेदी नजिकै दुर्घटनाग्रस्त हुँदा १० जनाको निधन भएको छ । घटनामा घाइते भएका तीन जनाको हेटौडास्थित अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव रहेका छन् ।

काठमाडौंको बल्खुबाट विहान करिब ५ः०० बजेतिर छुटको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी माइक्रो बस मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी केही तलतिर विहान कबिर ६ः१० बजे दुर्घटनामा परेको थियो । माइक्रोबस दुर्घटनामा घाइते अवस्थामा उद्धार गरिएका मध्ये ५ पुरुष, ३ महिला र २ बालिका निधन भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य तीन जना यात्रुको हेटौडास्थित अस्पतालमा उपचार भइरहेको छ । हालसम्म १३ जनाको उद्धार गरिएको छ भने दुई जनाको अझै खोजी जारी छ । बसमा १५ जना यात्रु रहेको प्रारम्भिक अनुमानको आधारमा खोजी कार्य तीव्र बनाइएको सशस्त्र प्रहरी भिमफेदीले जनाएको छ ।

अत्यन्तै भिरालो जमिन भएकोले उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी तथा अन्य स्थानीय र यात्रुहरु खटिएका छन् ।

दुर्घटनाका कारण खुल्न बाँकी छ । इभी माइक्रो बसहरुमा गम्भिर सुरक्षा चुनौतिहरु देखिएका छन् । हरेक महिनाजसो इभी गाडीहरु दुर्घटनामा यात्रुहरुको ज्यान गुमाइरहेका छन् । विहानैको समयमा गाडी अत्याधिक गतिमा कुदाइएको देखिएको छ । झिसमिसेमै काठमाडौंबाट छुटेको गाडी विहान उज्यालो हुने बेला चिसापानी गढी पुगिसकेको देखिएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनास्थल काठमाडौंको बल्खुबाट करिब ५३ किलोमिटर दुरीमा पर्दछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*