एभरेष्ट कलरको ३९ हजार ५०० कित्ता शेयरको लकइन अवधि पुस ३ मा सकिँदै

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको ३९ हजार ५०० कित्ता साधारण शेयरको लकइन अवधि आगामी पुस ३ गते समाप्त हुने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको शेयर गत असार ४ गते बाँडफाँड गरेको थियो । सो क्रममा सामूहिक लगानी कोषका लागि छुट्याइएको कुल शेयरको पाँच प्रतिशत अर्थात् ३९ हजार ५०० कित्ता साधारण शेयर लकइनमा राखिएको थियो । प्रतिकित्ता १०० रुपैयाँका दरले यी शेयरको कुल मूल्य ३९ लाख ५० हजार रुपैयाँ रहेको छ ।
सर्वसाधारणलाई शेयर बाँडफाँड भएको मितिले छ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्थाअनुसार उक्त शेयरको लकइन अवधि २०८३ पुस ३ गते समाप्त हुनेछ । लकइन अवधि सकिएपछि सम्बन्धित सामूहिक लगानी कोषले प्रचलित नियमअनुसार ती शेयर कारोबार गर्न सक्नेछन् ।
यद्यपि कम्पनीले सामूहिक लगानी कोषका दुईवटा योजना परिपक्व भइसकेकाले ती योजनाको स्वामित्वमा रहेका १ हजार १९७ कित्ता शेयर भने नेपाल धितोपत्र बोर्डको २०८० कात्तिक २० गतेको पत्रमा उल्लेखित व्यवस्थाअनुसार लकइन अवधि समाप्त हुनुअघि नै फुकुवा गरिएको जनाएको छ ।











