नख्खुबाट स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद, तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले ललितपुर महानगरपालिका–२ नख्खुबाट स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ नगद बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उक्त रकम बरामद गरेको हो।
नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौँको बानेश्वरका प्रज्वल रिजाल रहेका छन्।
प्रहरीका अनुसार उनीहरू बागमती प्रदेश–०१–०२७ च २७६५ नम्बरको भ्यानमा रकम लिएर हिँडिरहेका बेला पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानमा उनीहरू पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत रहेको खुलेको छ। उक्त कम्पनीका सञ्चालक भगवान शाह रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाले रकमको स्रोत खुलाउन सकेका छैनन्।











