पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

३ मंसिर २०८३, बिहीबार १५:४३

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध मलेसिया वैदेशिक रोजगार ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान र बुझाएको प्रतिवेदनका आधारमा जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको हो ।

पक्राउ पुर्जी जारी भए पनि अर्याल हालसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् । उनी फरार रहेको बताइएको छ । यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय, मन्त्रालयका पूर्वसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।

यसअघि पनि यही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो । उनीहरूमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*