पुँजी बजारमा झिनो सुधारः हैरानीमा शेयर लगानीकर्ता, किन अस्थिर मार्केट ?

३ मंसिर २०८३, बिहीबार १५:०५

काठमाडौँ । पछिल्लो समय शेयर बजार निरन्तर सुस्ताउँदै गएको छ । लगातार तीन कारोबार दिन राताम्य बनेको बजार आज भने झिनो अंकले बढेर बन्द भएको हो । तिहारपछि शेयर बजारले स्थिर गति लिन सकेको छैन । कहिले सामान्य अंकले बढ्ने त कहिले घट्ने प्रवृत्तिले बजारमा अन्योल कायम छ । बजारमा देखिएको निरन्तरको उतारचढावसँगै लगानीकर्ताको मनोबलसमेत कमजोर बन्दै गएको छ । बजारमा लगानीकर्ताको आकर्षण बढ्न नसक्दा कारोबार र सूचक दुवैमा अपेक्षित उत्साह देखिन सकेको छैन ।

सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान, सूचीकृत कम्पनीहरूको कमजोर लाभांश क्षमता तथा समग्र आर्थिक अनिश्चितताले लगानीकर्तालाई थप निराश बनाएको देखिन्छ । यद्यपि, बजार सुधार र लगानीकर्ताको विश्वास फर्काउने उद्देश्यले नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक सक्रिय देखिएका छन् । नीतिगत सुधार तथा बजारमैत्री पहलको चर्चा भइरहे पनि त्यसको सकारात्मक प्रभाव भने लगानीकर्ताले अनुभूति गर्न सकेका छैनन् । बजारमा सुधारका संकेत देखिन नसक्दा लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६२ अकंले बढेर २६२८.६७ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ९४ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् भने ५ उपसूचकमा सुधार देखिएको छ । आज होटल तथा पर्यटन समूहको शेयर सर्वाधिक १.२९ प्रतिशतले बढेको हो ।

बिहिबार १३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*