स्वास्थ्य बीमाको पहुँच सबै नागरिकसम्म पुर्‍याउन कार्यक्रम सुधार्नुपर्छः मन्त्री गौतम

८ मंसिर २०८३, मंगलवार १७:१९

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी नागरिकका गुनासा सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार गर्नुपर्ने बताएकी छन्। सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार आयोजित बैठकमा उनले उपचार आवश्यक पर्दा स्वास्थ्य बीमामार्फत सहजै सेवा पाउने सुनिश्चितता गर्नुपर्नेमा जोड दिइन्।

स्वास्थ्य बीमामा देखिएका समस्या समाधानका लागि छलफल अघि बढाइएको उल्लेख गर्दै मन्त्री गौतमले तत्काल सुधारका उपाय पहिचान गर्नुपर्ने बताइन्। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना कायम गर्ने र एकीकृत सामाजिक सुरक्षा प्रणालीतर्फ अघि बढ्ने उद्देश्यले बैठक आयोजना गरिएको थियो।

‘घरमा कोही बिरामी पर्दा परिवारको पहिलो चिन्ता उपचारको पैसा कहाँबाट जुटाउने भन्ने हुनु हुँदैन। हरेक नागरिकले मसँग स्वास्थ्य बीमा छ, मलाई चाहिएको बेला उपचार पाउँछु भनेर ढुक्क हुन सक्नुपर्छ,’ उनले भनिन्।

बीमामा योगदान गर्न नसक्ने नागरिकको जिम्मेवारी राज्यले लिनुपर्ने पनि मन्त्री गौतमको भनाइ थियो। नागरिकका गुनासा सुनेर तिनलाई सम्बोधन गर्ने गरी सुधारका कार्यक्रम अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै प्राप्त हुने व्यवस्था मिलाउनुपर्ने बताइन्।

बैठकमा स्वास्थ्य बीमामार्फत उपचार सेवा उपलब्ध गराउन सरकारी अस्पतालको सञ्जाल पर्याप्त भए–नभएको तथा निजी अस्पताललाई समेत कार्यक्रममा समेट्नुपर्ने विषयमा पनि छलफल भएको थियो।

त्यसैगरी, हाल छुट्टाछुट्टै मन्त्रालयअन्तर्गत रहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान संकलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल गरिएको थियो। तीनै निकायलाई एकीकृत गर्न विद्यमान ऐन संशोधन गरी एउटै प्रणालीमा आबद्ध गर्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने दुई कानुनी विकल्पबारे बैठकमा विचारविमर्श भएको थियो।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड र प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*