६४ व्यवसायीलाई २२ लाखभन्दा बढी जरिवाना, खाद्यान्न र किराना कारोबारमा सबैभन्दा बढी कारबाही

काठमाडौं । बजारमा उपभोक्ता ठगी, व्यापारिक अनियमितता तथा व्यवसाय सञ्चालनसम्बन्धी नियम उल्लङ्घन गर्ने ६४ व्यवसायी सरकारी कारबाहीमा परेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा उनीहरूलाई २२ लाख ८२ हजार रुपैयाँभन्दा बढी जरिवाना गरिएको छ।
विभागका अनुसार २०८३ साउन २ गतेदेखि मंसिर १० गतेसम्म ६८८ पटक बजार अनुगमन गरिएको थियो। अनुगमनका क्रममा खाद्यान्न तथा किराना, होटल तथा रेस्टुरेन्ट, कपडा, औषधि, मोबाइल, कम्प्युटरलगायत विभिन्न प्रकृतिका व्यवसाय कारबाहीमा परेका हुन्। सबैभन्दा बढी कारबाही खाद्यान्न तथा किराना कारोबारसँग सम्बन्धित व्यवसायमा देखिएको छ।
विभागको विवरणअनुसार खाद्यान्नलगायतका सामान बिक्री गर्ने १३ व्यवसायलाई ६ लाख ८० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने सात व्यवसायबाट तीन लाख १० हजार रुपैयाँ जरिवाना गरिएको छ। किराना तथा खाद्यान्न कारोबार गर्ने छ व्यवसायलाई दुई लाख ३१ हजार रुपैयाँ र सामान्य खाद्यान्न कारोबार गर्ने पाँच व्यवसायलाई दुई लाख २० हजार आठ रुपैयाँ जरिवाना गरिएको छ।
यसैगरी, किराना पसल सञ्चालन गर्ने तीन व्यवसायलाई ३५ हजार रुपैयाँ, स्थानीय बजारका तीन व्यवसायलाई १५ हजार रुपैयाँ तथा कपडालगायतका सामान बिक्री गर्ने तीन व्यवसायलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। रेडिमेड तथा थान कपडाको कारोबार गर्ने दुई व्यवसायलाई ३० हजार रुपैयाँ, पान स्टोर सञ्चालन गर्ने दुई व्यवसायलाई ३० हजार रुपैयाँ र दैनिक उपभोग्य वस्तु बिक्री गर्ने दुई व्यवसायलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको विभागको विवरणमा उल्लेख छ। खाद्यान्न तथा किराना कारोबार गर्ने थप दुई व्यवसायलाई १५ हजार रुपैयाँ र चमेनागृह सञ्चालन गर्ने दुई व्यवसायलाई पनि १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
खाद्यान्न तथा किराना क्षेत्रबाहेक अन्य विभिन्न प्रकृतिका व्यवसाय पनि कारबाहीमा परेका छन्। कस्मेटिक पसल, अटो पार्ट्स व्यवसाय, तरकारी तथा फलफूल कारोबार गर्ने व्यवसाय र मिठाई पसललाई जनही पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। भाँडाकुँडा बिक्री गर्ने व्यवसायलाई १० हजार रुपैयाँ, डिपार्टमेन्ट स्टोरलाई १० हजार रुपैयाँ तथा विविध प्रकृतिका व्यवसायलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ।
त्यस्तै, घाँस तथा ग्यास कारोबार गर्ने व्यवसायलाई १० हजार रुपैयाँ, बेकरी व्यवसायलाई पाँच हजार रुपैयाँ, मोबाइल तथा ल्यापटप कारोबार गर्ने व्यवसायलाई पाँच हजार रुपैयाँ र मन्दिर तथा पूजासामग्रीको कारोबार गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। घरायसी सामान बिक्री–वितरण गर्ने व्यवसायलाई पाँच हजार रुपैयाँ तथा समुद्रपार आयात–निर्यात गर्ने व्यवसायलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
कम्प्युटर हार्डवेयर बिक्री गर्ने व्यवसायमाथि भने दुई लाख चार हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्यान्न तथा मसलाको कारोबार गर्ने व्यवसायलाई १० हजार रुपैयाँ र खाद्यान्न, किराना तथा माछाको कारोबार गर्ने व्यवसायलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
कपडा उत्पादन गर्ने व्यवसायलाई १० हजार रुपैयाँ, जग्गाको कारोबारसम्बन्धी व्यवसायलाई ५० हजार रुपैयाँ र कन्फेक्सनरी व्यवसायलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। प्लास्टिकका पाइप तथा फिटिङ्स उत्पादन तथा बिक्री गर्ने व्यवसायलाई पाँच हजार रुपैयाँ र मर्मत तथा सम्भारसम्बन्धी वर्कसपलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। घाँस तथा चाना कारोबार गर्ने व्यवसायलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ भने सूचीमा प्रकृति स्पष्ट नखुलेको थप एक व्यवसायलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागको विवरणमा उल्लेख छ।











