धमाधम शाखा समायोजन गर्दा पनि घटेन बैंकको खर्च, तीन महिनामै साढे ९ अर्ब स्वाहा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कार्यालय सञ्चालनमा ९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंकहरूले चालु आर्थिक वर्षको तीन महिनामा कार्यालय सञ्चालनका लागि ९ अर्ब ३४ करोड ३५ लाख रुपैयाँ खर्च गरेका हुन् ।
यो रकम गत आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिको तुलनामा ५.८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकहरूले कार्यालय सञ्चालनमा ८ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ खर्च गरेका थिए । एक वर्षको अवधिमा बैंकहरूको कार्यालय सञ्चालन खर्च ५१ करोड ९३ लाख रुपैयाँले बढेको देखिन्छ ।
बैंकहरूको कार्यालय सञ्चालन खर्चमा कार्यालय भाडा, बिजुली, पानी, इन्टरनेट, कम्प्युटर तथा प्रविधि प्रणालीको मर्मतसम्भार, सुरक्षा, सरसफाइ तथा प्रशासनिक व्यवस्थापनलगायतका नियमित खर्च समेटिन्छन् । बैंकका दैनिक कामकाजलाई सहज र व्यवस्थित रूपमा सञ्चालन गर्न यस्ता खर्च आवश्यक मानिन्छन् ।
पछिल्लो समय बैंकहरू सञ्चालन खर्च नियन्त्रण गर्ने रणनीतिमा देखिएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा गाभ्न तथा समायोजन गर्न सहज हुने नीति ल्याएसँगै बैंकहरू शाखा सञ्जाल व्यवस्थापन र खर्च कटौतीतर्फ केन्द्रित हुन थालेका छन् । शाखा संख्या तथा सञ्चालन संरचनालाई व्यवस्थित बनाउने प्रयासले दीर्घकालमा सञ्चालन खर्च नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यालय सञ्चालनमा सबैभन्दा बढी खर्च गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ८८ करोड ७ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो खर्च ८१ करोड ५३ लाख रुपैयाँ रहेको थियो । यससँगै बैंकको कार्यालय सञ्चालन खर्च ८.०२ प्रतिशतले बढेको छ ।
दोस्रो स्थानमा रहेको लक्ष्मी सनराइज बैंकले ७१ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो खर्च ६१ करोड २५ लाख रुपैयाँ थियो । त्यस्तै, तेस्रो स्थानमा रहेको एनआईएमबीले ६३ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ । नबिल बैंकले ६१ करोड ९८ लाख र सिद्धार्थ बैंकले ५७ करोड ३० लाख रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेका छन् ।
त्यसैगरी, हिमालयन बैंकले ५६ करोड २९ लाख, प्रभु बैंकले ५२ करोड २० लाख, एनआईसी एशिया बैंकले ४९ करोड ९९ लाख र एभरेष्ट बैंकले ४६ करोड ५५ लाख रुपैयाँ खर्च गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको यस्तो खर्च ४४ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

एनएमबी बैंकले ४१ करोड ७ लाख, सिटिजन्स बैंकले ३८ करोड ६६ लाख, कुमारी बैंकले ३८ करोड ४२ लाख र कृषि विकास बैंकले ३८ करोड २ लाख रुपैयाँ खर्च गरेका छन् । त्यस्तै, सानिमा बैंकको ३५ करोड ८६ लाख, नेपाल बैंकको ३५ करोड ७५ लाख, माछापुच्छ्रे बैंकको ३५ करोड २१ लाख र प्राइम बैंकको ३१ करोड ५२ लाख रुपैयाँ कार्यालय सञ्चालन खर्च रहेको छ ।
यसैगरी, नेपाल एसबीआई बैंकले २८ करोड १५ लाख रुपैयाँ खर्च गर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकको खर्च सबैभन्दा कम २० करोड ३२ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन बैंकको कार्यालय सञ्चालन खर्च घटेको छ । प्रभु बैंकको खर्च १.५२ प्रतिशत, एनआईसी एशिया बैंकको १६.३७ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १.७४ प्रतिशतले घटेको हो । त्यस्तै, एनएमबी बैंकको खर्च १.१५ प्रतिशत, कुमारी बैंकको १४.५५ प्रतिशत र नेपाल बैंकको ०.७८ प्रतिशतले घटेको छ ।











