स्वास्थ्य बीमा ऐन संशोधनको तयारी, विधेयक संसदमा दर्ता गरिने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र दिगो बनाउन सरकारले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको जनाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बिहीबार मन्त्री निशा मेहताको नेतृत्वमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग यस विषयमा थप छलफल गरिएको छ।
छलफलमा स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान अवस्था, कार्यान्वयनका क्रममा देखिएका समस्या र ऐन संशोधनमार्फत सम्बोधन गर्नुपर्ने विषयमा विचारविमर्श भएको थियो।
मन्त्रालयले आवश्यक अध्ययन, छलफल र गृहकार्यपछि संशोधन विधेयक तयार गरेको हो। अब उक्त विधेयक संसदमा दर्ता गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्री मेहताका अनुसार स्वास्थ्य बीमालाई उपचार खर्च व्यवस्थापन गर्ने कार्यक्रमका रूपमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने सरकारको लक्ष्य छ। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कानुनी तथा नीतिगत सुधार अघि बढाइएको उनले बताएकी छन्।











