इन्द्रदेव यादव बने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक

१० मंसिर २०८३, बिहीबार १८:२८

काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै यादवलाई विभागको नेतृत्व सुम्पिएका हुन् ।

महोत्तरीको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत यादव गत मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अर्थ मन्त्रालयमा सरुवा भएका थिए । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका यादवसँग सार्वजनिक प्रशासनको अनुभव छ ।

विभागका तत्कालीन महानिर्देशक निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएपछि उक्त पद रिक्त थियो । सोही रिक्त पदमा यादवलाई जिम्मेवारी दिइएको हो ।

नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्ने चुनौतीपूर्ण अवस्थामा यादवले विभागको नेतृत्व पाएका छन् । यसका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।

यसैबीच, अर्थमन्त्री वाग्लेले सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा खटाउने निर्णय गरेका छन् । गत मङ्सिर ४ गतेकै मन्त्रिपरिषद् बैठकबाट अर्थ मन्त्रालयमा सरुवा भएकी शर्मालाई उक्त कार्यालयमा जिम्मेवारी दिइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*