भोलिबाट राजधानी काठमाडौं पूर्ण रुपमा लकडाउनमा, पास नलिई बाहिर निस्कन नपाइने

२२ बैशाख २०७८, बुधबार १९:१५

काठमाडौं । कोरोना ममारीको प्रकोप बढ्दै गएपछि आज बसेको राजधानी उपत्यकाका तीन वटै प्रशासन कार्यालयको बैठकले राजधानी उपत्यकालाई पूर्ण रुपमा लकडाउनमा लैजाने निर्णय गरेको छ । सो निर्णय अनुसार अब कोही पनि मानिस राजधानी बाहिर जाने पाउने छैनन् भने राजधानीभित्र प्रवेश गर्न समेत कडाई गरिएको छ ।

एक साता पहिले जारी निषेधाज्ञामा बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी तथा सरकारी कार्यालयका कर्मचारीलाई परिचय पत्रको आधारमा सहज आवत जावतको व्यवस्था गरिएको भएपनि भोलिबाट निषेधाज्ञा लकडाउनमा परिणत हुने भएको छ । यद्यपि आज बसेको तीन वटै प्रशासन कार्यालयले लकडाउन भन्ने शब्द भने प्रयोग गरेको छैन ।

तर, आज गरेको ११ वटा निर्णयले राजधानीलाई गत वर्षको लकडाउन झै कडा अवस्थामा फर्काउने भएको छ । परिचय पत्र नभई कोही पनि मानिस बाहिर निस्कन पाउने छैनन् । एम्बुलेन्स, खानेपानी तथा अत्यावश्यक सेवालाई बिना पास बाहिर निस्कने अनुमति दिइएको छ भने बैंक वित्तीय संस्था, बीमा कम्पनी, अन्य सरकारी कार्यालयका कर्मचारीहरुलाई पास अनिवार्य गरिएको छ । कोभिडविरुद्धमा सरकारले जारी गरेको निषेधाज्ञामा सयौं सवारी साधनहरु बाहिर निस्किएका कारण सडक जाम हुने अवस्था विद्यमान रहेकै बेला कोरोना भाइरसको प्रकोप थप बढ्दै जाँदा स्थानीय प्रशासनले थप कडाई गर्ने निर्णय गरेको हो ।

भोलिबाट सबै अत्यावश्यक सेवा प्रदायकहरुले एक तिहाई कर्मचारीबाट एक तिहाई कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्नुपर्ने व्यवस्था लागू गरिएको कारण सरकारी सेवा समेत प्रभावित हुने भएको छ ।

बीमा कम्पनी तथा बैंकहरुलाई छुट्टै पासको व्यवस्था गरिएको छ । पढौं समाचार ।

पढौं राजधानीका तीन वटै जिल्ला प्रशासन कार्यालयले गरेका निर्णयहरु

१) अत्यावश्यक सेवा वाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरु एक चौथाई कर्मचारी मात्रै उपस्थित हुने गरी संचालन गर्ने ।

२) सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्धारा जारी गरेको सवारी पास वा परिचयपत्रका आधारमा आवत जावत गर्न दिने ।

३) बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकाको हकमा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुल्ला गर्ने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाउने । सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिने ।

४) बैंक तथा वित्तीय संस्थाका सवारी साधन संचालनको हकमा सिमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिने ।

५) अत्यावश्यक कार्य, विरामी, कुरुवा, मृत्यू संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने ।

६) विकास निर्माणका आयोजनाहरुले नै आवाशीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गरी कार्य संचालन गर्ने गराउने ।

७) अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म मात्र खुल्ला गर्ने ।

८) पत्रकार तथा संचारकर्मीलाई सुचना विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने । सुचना विभागको प्रेस पास नभएका संचारकर्मी कर्मचारीको हकमा सम्बन्धित संचार गृहहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने ।

९। फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा संचालन हुने विभिन्न व्यापार व्यवासय संचालन एवम् कवाडी संकलन रोक लगाउने ।

१०) उपत्यका बाहिर जानको लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता सहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिने ।

११) यसअघि जारी गरिएका सम्पूर्ण सवारी पास खारेज गर्ने । अति आवश्यक अवस्थामा बाहेक जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी नगर्ने ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*