किस्ता नतिरेको आरोपमा फरवार्ड लघुवित्तका कर्मचारीद्वारा महिला कुटपिट

२८ बैशाख २०७८, मंगलवार १४:२०

काठमाडौं । किस्ता नतिरेको भन्दै सुनसरीको देवागञ्जमा एक वृद्धा महिलामाथी कुटपिट भएको छ । देवागञ्ज गाउँपालिका–६ की फूलकुमारी मेहतालाई किस्ता नतिरेको भन्दै फरवार्ड लघुवित्त वित्तीय संस्थाका दुई कर्मचारीले शनिबार कुटपिट गरेका हुन् ।

फरवार्ड सामुदायिक लघुवित्तले पनि घटना घटेको स्वीकार गरेको छ । यद्यपि दोषीलाई कानुनी कारवाहीको साटो पीडित महिलासँग उपचार खर्च दिने भन्दै सहमति गरिएको पाइएको छ ।

गत शनिबार देवागञ्ज गाउँपालिका–६ वडामा ऋणी सदस्यहरुको भेला हुने दिन थियो । कोरोना महामारीको कारण उक्त दिन भेला भएन । भेला नभएको कारण एक्लै घरमा बसेको समयमा फुलकुमारीमाथि फरवार्ड लघुवित्त संस्थाको ऋण चुक्ता टोलीले महिलाको घरैमा कुटपिट गरेका हुन् । “मैले ऋण लिए पनि कोरोनाका कारण आउने बाटो सबै बन्द भएकाले तिर्न सकेकी थिइन” उनले भनिन्, ‘मलाई घरमै आएर फरवार्डका दुई जना कर्मचारीले कुटपिट गरे ।’

घटनामा फूलकुमारीको खुट्टामा चोट लागेको छ । घुँडामा चोट लागेपछि उनको देवागञ्ज–२ स्थित काली पोलिक्लिनिकमा उपचार गराइएको छ । फूलकुमारीका अनुसार उक्त संस्थाका कर्मचारी भागेश्वर माझी र मिथलेश खवासले दिउँसो ३ बजेतिर घरमै आएर निर्घात रुपमा कुटपिट गरेको आरोप लगाएकी छिन् ।

फरवार्ड सामुदायिक लघुवित्त वित्तीय संस्थाका देवागञ्ज शाखाका प्रमुख केदार प्रसाद उराऊले घटना सामान्य भएको बताए । उनले सो घटना आइतबार नै मिलापत्र भएको बताए । उनले भने, ‘भाषिक समस्याका कारण ठेलमठेल भएको रहेछ । हिजो नै सहमति भइसक्यो ।’ स्रोतका अनुसार महिलामाथि लघुवित्तका कर्मचारीले कुटपिट गरेपछि महिलालाई अस्पतालमा नै भर्ना गर्नु परेको थियो ।

सो काण्ड विभिन्न च्यानल हुँदै प्रमुख जिल्ला अधिकारी समक्ष पुगेको थियो । पछि डराएर सो लघुवित्तका कर्मचारीहरुले पीडित महिलालाई उपचार खर्च दिएर केश सामसुम पारेको जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*