तेस्रो त्रैमासिक समीक्षाः गुराँस लाइफको बीमा व्यवसायमा छलाङ

खुद बीमा शुल्क आयमा १२२% ले बृद्धि, व्यवस्थापन खर्च दोब्बर बढ्दा लगानीकर्ताले पाउने लाभांश न्यून
२९ बैशाख २०७८, बुधबार १३:३३

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । पुरानो कम्पनी भएर पनि नयाँ कम्पनीहरुले चुनौति दिन थालेको सन्दर्भमा यस पटक भने उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ ।

कम्पनीले चमत्कारिक रुपमा सुधार गर्न सफल भएको आज प्रकाशित वित्तीय विवरणले औल्याएको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आम्दानी १२२.७६ प्रतिशतले बृद्धि भई तीन अर्ब एक करोड ८८ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा जम्मा एक अर्ब ३४ करोड १९ लाख ७० हजार रुपैयाँ खूद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको चैत्र मसान्तसम्ममा बीमा व्यवसाय उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको हो ।


कम्पनीको खुद दावी भुक्तानी १०७.८४ प्रतिशतले बृद्धि भएको छ । गत आवमा २१ करोड ३५ लाख ६४ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा ४४ करोड ३८ लाख ७३ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च उल्लेख्य बृद्धि भएको छ । गत आवमा २० करोड ६४ लाख १७ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा ४० करोड ९५ लाख ५० हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । त्यस्तै अभिकर्तालाई वितरण गरिने कमिशनमा १६२.८५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले समीक्षा अवधीमा ४५ करोड तीन लाख आठ हजार रुपैयाँ अभिकर्तालाई वितरण गरेको छ । अघिल्लो आवमा जम्मा १७ करोड १३ लाख १६ हजार रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको थियो ।

कम्पनीको खुद मुनाफा २४.५१ प्रतिशतले बृद्धि भएको छ । गत आवमा आठ करोड ३७ लाख ६० हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको नौ महिने समीक्षा अवधीमा १० करोड ४२ लाख ९३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । कूल एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीको चालु आवमा व्यवस्थापन खर्च लगायतका अन्य खर्चहरु बृद्धि भएको कारण शेयरधनीहरुले व्यवसाय बृद्धि भए अनुसारको लाभांश नपाउने देखिएको हो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७.०४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२९.३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०९.३९, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ६८२.७३ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*