नवलपरासीको ७ वटा पसलमा आगलागी, एक करोड बराबरको क्षति

काठमाडौं । नवलपरासी पश्चिम जिल्लाको सुनवलमा भएको आगोलागीबाट एक होटेल गरि सात वटा पसल जलेर खरानी भएका छन् । आगलागीबाट अनुमानित एक करोड बराबरको धनमालको क्षति भएको छ ।
सुनवल नगरपालिका वडा नं १ सोमनाथ स्थित सन्तोष पौडेलको टिन र बाल्कले बनेको घरको सटर भाडामा रहेको मुन्ना टायर पसलबाट सुरु भएको आगलागीबाट थप थिरती होटेल, हिमचुली मोटर पार्टस, गरौ कलिक मोटर पार्टस, सगिर व्याट्री पसल, रामजि वर्कसप, सुरज पेन्टस गरि सातवटा सटर भएको पसल पुर्ण रुपमा जलेर नष्ट भएको र त्यसबाट झण्डै एक करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी भोजराज पाण्डेले बताए ।
बिहान डेढ बजे देखि सुरु भएको आगलागी ३ घण्टा पछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको प्रारम्भिक अनुसंधानमा बिजुली सर्ट भई आगोलागी भएको भन्ने बुझिएको हो । यसबारे थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।












