म्याद गुज्रिएको मदिरा बेच्ने स्टोरलाई २ लाख जरिवाना
१६ आश्विन २०८०, मंगलवार १४:३४

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. २६ मा अवस्थित देवदास मानन्धर सञ्चालक रहेका न्यू भिम स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको महानगरका कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिएका छन् ।
महानगरले बजारलाई थप व्यवस्थित पार्ने उद्देश्यले गत साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतका वर्षमा भने चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले यसवर्षदेखि केही समय अघिदेखि नै अनुगमन सुरु गरेको हो ।












