बीमा कम्पनीहरुका सबै कर्मचारीहरुलाई निःशुल्क कोभिड भ्याक्सिन, फागुन २३ गतेदेखि लगाउने तयारी

१७ फाल्गुन २०७७, सोमबार २३:२३

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ४० वटै बीमा कम्पनीका कर्मचारीहरुले आगामी फागुन २३ गतेबाट कोरोना भ्याक्सिन लगाउन पाउने भएका छन् । बीमा समितिको पहलमा अत्यावश्यक सार्वजनिक सेवा अन्तर्गत रहेको बीमा कम्पनीका कर्मचारीहरुले निःशुल्क खोप लगाउन पाउने भएका हुन् । सरकारले महंगो मूल्य तिरेर किनेर ल्याएको कोभिड भ्याक्सिन बीमा कम्पनीहरुमा कार्यरत सबै कर्मचारीहरुलाई निःशुल्क लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बीमा समितिका अनुसार नेपालमा सञ्चालनमा रहेका २० वटा निर्जिवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी र एक वटा पुनर्बीमा कम्पनीसहित कूल ४० वटा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई खोप लगाउने व्यवस्था गरिएको छ । देशैभरीका बीमा कम्पनीहरुका शाखा कार्यालय र केन्द्रीय कार्यालयमा कार्यरत सबै कर्मचारीहरुको लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार बीमा कम्पनीमा कार्यरत सबै कर्मचारीहरुलाई परिचय पत्रको आधारमा खोप लगाउने सम्बन्धमा सैद्धान्तिक सहमति भइसकेको छ । राजधानी उपत्यकामा खोपकेन्द्र सञ्चालन हुुने बाँकी छ भने राजधानी बाहिर जिल्ला अस्पताल तथा तोकिएको स्वास्थ्य केन्द्रमा त्यस्तो सुविधा पाइने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*