प्राईस कटिङ र उधारो बीमा पोलिसी बिक्री नगर्न बीमा समितिका अध्यक्ष सिलवालको चेतावनी

३१ चैत्र २०७७, मंगलवार १८:०४

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्जिवन बीमा कम्पनीहरुलाई तीन वटा कुरामा तत्काल ध्यान दिन चेतावनी दिएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले शुभारम्भ गरेको सगरमाथा आरोग्य स्वास्थ्य बीमा पोलिसीको उद्घाटन गर्न काठमाडौंको रविभवनस्थित एक होटलमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवालले निर्जिवन बीमा कम्पनीहरुमा भइरहेको प्राईस कटिङ, उधारो बीमा बन्द गर्न चेतावनी दिएका छन् । साथै उनले दावी भुक्तानी समयमै गर्न समेत बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘मैल सगरमाथा इन्स्योरेन्स कम्पनीलाई मात्रै भनिरहेको छैन, सबै निर्जिवन बीमा कम्पनीहरुलाई भनिरहेको छु, बीमा ऐन र नियमावलीले तोकेको मूल्यमा व्यापार गर्नु भनिसकेपछि विभिन्न बहानामा बीमा शुल्क घटाएर व्यवसाय गर्ने काम भइरहेको छ, बीमा ऐनले उधारो बीमा नगर भन्छ, मैले पनि त्यस्तो बीमा कानुनले तोकेको सीमाभित्र रहेर व्यवसाय गर्नु भनेको छु, अनदेखा गर्ने काम भइरहेको छ । अटेर गर्ने काम भइरहेको छ ।’ उनले बीमा कम्पनीहरुलाई विगतमा दिइएको छुटको परिणाम भएको भन्दै आगामी दिनमा त्यस्तो हुन नदिइने प्रष्ट पारेका छन् । स्थलगत अवलोकनको क्रममा तीन वटा तथ्यहरु फेला परेको भन्दै अध्यक्ष सिलवालले गलत गर्ने जुनसुकै कम्पनीहरुलाई कारवाही गरिने बताए ।

सिलवालले दावी भुक्तानीमा बीमा कम्पनीहरुले लेनदेन गर्ने गरेको आरोप समेत लगाए । उनले भने, ‘लेनदने हुनेहरुलाई तत्कालै भुक्तानी दिने र अन्यले भइसक्यो, आज हुन्छ, भोलि हुन्छ भन्दै झुलाउने काम गर्ने गरिएको स्थलगत अवलोकनको क्रममा फेला पारेका छौं । त्यसलाई त्यस्तो यी तीन वटा प्रवृत्ति सुधार्नुस् ।’ अध्यक्ष सिलवालले बीमा क्षेत्रमा धेरै सुधार जरुरी रहेको भन्दै त्यसको लागि काम गरिने बताए । साथै उनले बीमा कम्पनीहरुलाई ग्रामिण क्षेत्रमा गएर व्यवसाय गर्न समेत निर्देशन दिएका छन् । बीमा कम्पनीहरुलाई प्रश्न गर्दै भने, ‘बीमा कम्पनीहरु धाउने हो कि बीमा गर्ने मानिस धाउने हो ? बीमा गर्छु भन्दा कम्पनी पाइएन भन्ने गुनासो आउने गरेका छन् ।’

बीमा समितिका अध्यक्ष सिलवालको कडा अभिव्यक्ति आएपछि सगरमाथा इन्स्योरेन्स कम्पनीका अध्यक्ष आरके मानन्धरले पनि बीमा समितिले माइक्रोम्यानेजमेन्ट गर्न खोजेको आरोप लगाउँदै त्यस्ता कार्यहरु आफ्ना लागि स्वीकार्य नभएको बताए । समयमा दावी भुक्तानी नहुने विषयमाथि अध्यक्ष सिलवालले हलुका टिप्पणी गरेको भन्दै अगाडि भने, ‘अध्यक्षज्यूले दावी भुक्तानीमा समस्याको कुरा गर्नुभयो, बीमा कम्पनीको व्यवसाय नै दावी भुक्तानी हो, तर, दावी भुक्तानी अघि सर्भेयरले पूरा गर्नुपर्ने निश्चित कामहरु छन्, बीमितले कागजात बुझाउनुपर्ने केही प्रावधानहरु (अण्डरराईटिङ) छन् । नेपालमा सर्भेयरको समस्या, समयमा कागजात नपाउने समस्या रहेको तर्फ पनि ध्यान दिनु जरुरी छ । हामीले बोर्ड बैठकमा भन्ने गरेका छौं, प्रक्रिया पूरा भएको दावी भुक्तानी तत्कालै गरिहाल्नुस् ।’

अध्यक्ष मानन्धरले प्राईस कटिङको विषयमाथि कडा टिप्पणी गर्दै भने, ‘हामी इमानको व्यवसाय गर्छौ, नैतिकता गुमाएर प्राईस कटिङ गरेर बीमा व्यवसाय गर्दैनौं ।’ सञ्चार उद्यमी समेत रहेका अध्यक्ष मानन्धरले बीमा समितिका अध्यक्ष सिलवालले उठाएको विषयहरुले तत्कालै खरो जवाफ दिँदा मञ्चमै दोहोरी चलेको चर्चा कार्यक्रमस्थलमा चलेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*