एलआईसी नेपालको जीवन बीमा कोष पौने खर्ब नाघ्यो, खुद बीमा शुल्क–मुनाफा बढ्दा अन्य सूचांक कस्तो ?

३० बैशाख २०७८, बिहीबार १२:०७

काठमाडौं । एलआईसी नेपालको जीवन बीमा कोषको आकार पौने खर्ब नाघेको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा ७७ अर्ब ५४ करोड २८ लाख ९६ हजार ४४ रुपैयाँ संचिती गरेको छ ।

कम्पनीको जगेडा कोष २० प्रतिशतले बृद्धि हुँदा महाविपत्ति कोषबाट रकम झिकेको वित्तीय विवरणमा देखिएको छ । कम्पनीको खुद बीमा शुल्क र खुद मुनाफामा बृद्धि भएपनि हालसम्म कायम बीमा पोलिसी संख्या भने घटेको छ । कोरोना महामारीका कारण कम्पनीको परिपक्व तथा सरेन्डर बीमा पोलिसीले नयाँ जारी बीमा पोलिसीलाई उछिनेको देखिएको छ ।

एलआईसी नेपालको चालु आवको वित्तीय विवरण अन्य कम्पनीको जस्तै उत्साहप्रद देखिएको छैन । कम्पनीको जीवन बीमा कोष २१.७८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै खुद बीमा शुल्क ३१.८० प्रतिशतले बढेर १३ अर्ब ५९ करोड ९३ लाख नौ हजार ५९० रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीले १० अर्ब ३१ करोडको बीमा व्यवसाय गरेकोमा चालु आवमा कम्पनीको बीमा व्यवसाय थप फराकिलो बनेको देखिएको छ ।


कम्पनीको खुद दावी भुक्तानी १२० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आवमा छ अर्ब ३८ करोड ८२ लाख २३ हजार २४५ रुपैयाँ खुद दावी भुक्तानी गरेकोछ । कम्पनीको बाँकी कूल दावी भुक्तानी ७.४० प्रतिशतले घट्दा खुद दावी भुक्तानी भने बढेको हो । अघिल्लो आवमा २३ करोड ४७ लाख रुपैयाँ कूल दावी भुक्तानी बाँकी रहेकोमा चालु आवमा भने बक्यौता दावी भुक्तानी घटेर २१ करोड ७३ लाख ९८ हजार ४४० रुपैयाँमा झरेको छ ।

कम्पनीको व्यवस्थापन खर्च २९.५२ प्रतिशतले बृद्धि भएको छ । चालु आवमा कम्पनीले एक अर्ब ४० करोड ९० लाख ३३ हजार ७०० रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको छ । अघिल्लो वर्ष कम्पनीले एक अर्ब आठ करोड ७८ लाख रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको थियो ।

कम्पनीको खुद मुनाफा ४२.८५ प्रतिशतले बढेको छ । गत आवमा न्यून मुनाफा भएको कम्पनीको यस चालु आवमा मुनाफा बृद्धि भई १५ करोड ३७ लाख सात हजार २६१ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको मुनाफा १० करोड ७६ लाख तीन हजार ५९५ रुपैयाँ रहेको थियो ।

कम्पनीको हालसम्म कायम बीमा पोलिसी संख्या भने घटेको छ । गत आवमा सात लाख ३८ हजार २९३ वटा पोलिसी कायम रहेकोमा चालु आवमा सो संख्या घटेर सात लाख १६ हजार ३६२ मा सीमित भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६.९५ रुपैयाँ प्रतिशेयर नेटवर्थ १३९.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४०.६२ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३८५८.२४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*