२६ अर्ब ९४ करोडको नयाँ बैंक बन्ने, हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौता

३० बैशाख २०७८, बिहीबार १७:४०

काठमाडौं । धेरै समयदेखि चर्चा चलेको बिग मर्जरका लागि आज पहिलो पटक सम्झौता भएको छ । नेपालको इतिहासमा सबैभन्दा ठूलो चुक्ता पुँजिको हिमालयन इन्भेष्टमेन्ट बैंक स्थापनाको लागि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता भएको छ ।

कोरोना महामारीका बीचमा बिहिवार हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले दुई बैंकलाई आपसमा गाभ्ने सम्झौता सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । १ः१ शेयर रेसियोमा दुवै बैंकलाई गाभेर हिमालयन इन्भेष्टमेन्ट बैंक बनाउने सहमति भएको छ ।

आज सम्पन्न भएको मर्जर सम्झौता सम्बन्धी जानकारी दुवै संस्थाले राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रार र धितोपत्र बोर्डलाई औपचारिक रूपमा दिएका छन् । नेपालको इतिहासमा यति ठूलो मर्जर पहिलो पटक हुन लागेकोले सर्वत्र चासो व्यक्त गरिएको मर्जर सम्बन्धी विषयले विगत केही महिनादेखि चर्चा र बहस हुने गरेका थिए ।

राजधानीको एलोफ्ट होटलमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हिमालय बैंकले जनाएको छ । मर्जरमा जाने सम्झौतामा आज हस्ताक्षर भएपनि एकीकृत कारोबार कहिलेबाट हुन्छ भन्ने कुरा एकिन भइसकेको छैन ।

मर्जरपछि नयाँ बन्ने हिमालयन इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका वर्तमान सिईओ अशोक राणा हुने छन् भने डेपुटी प्रमुख कार्यकारी अधिकृत इन्भेष्टमेन्ट बैंकका वर्तमान सिईओ ज्योति पाण्डे हुने छन् ।

मर्जरपछि नेपालको सबैभन्दा धेरै चुक्ता पुँजि भएको बैंक बन्नेछ । मर्जरपछि नयाँ बन्ने बैंकको चुक्ता पुँजि २६ अर्ब ९४ करोड १७ लाख ३० हजार ८२८ रुपैयाँ हुनेछ । नयाँ बन्ने हिमालयन इन्भेष्टमेन्ट बैंकले दुई खर्ब ८८ अर्ब ऋण र दुई खर्ब ९८ अर्ब बचतको व्यवस्थापन गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*