ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार शपथ ग्रहण हुने

३० बैशाख २०७८, बिहीबार २२:५६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको संविधान २०७२ को धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । २०७४ साल फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भई यही बैशाख २७ गते संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएकोमा पुनः प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । यसअघि २०७२ सालमा पनि ओली नै प्रधानमन्त्री भएका थिए ।

यही बैशाख २७ गते संसदमा विश्वासको मत लिन नसकी पदमुक्त भएका ओलीले आज सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति भण्डारीले बैशाख २७ गते ७२ घण्टाको समय सीमा तोकेर धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनको लागि सहमतिसहित उपस्थित हुन आह्वान गरेकी थिईन् । सो समयसीमा आजै राति ९ बजेपछि सकिएको जानकारी राष्ट्रपति कार्यालयले दिएको थियो । लगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ती गरेकी हुन् ।

२०७४ साल फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले पुनः भोलि शपथ लिएर नियमित काम गर्नेछन् । यद्यपि आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने बाध्यतामा प्र्रधानमन्त्री छन् । त्यसो त, उक्त अवधीसम्ममा सरकारको नीति तथा कार्यक्रम र बजेट संसदमा पेश भई पास भइसकेको हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*