अर्थमन्त्री विष्णु पौडेलसहित सबै मन्त्रीहरु पदमुक्त, आजै सानो आकारको मन्त्रिमण्डल बनाउँदै प्रम ओली

३१ बैशाख २०७८, शुक्रबार १०:४२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरो राति राष्ट्रपति बिद्यादेवी भण्डारीले पुनः प्रधानमन्त्रीमा नियुक्त गरेपछि २०७४ फागुन ३ गते गठन भएको केपी ओली नेतृत्वको मन्त्रिमण्डलका सबै मन्त्रीहरु हिजोबाट स्वतः पदमुक्त भएका छन् ।

हिजोसम्म काम चलाउन मन्त्रीका रुपमा काम गर्दै आएपनि आजदेखि भने उनीहरुले काम गर्न पाउने छैनन् । पुल्चोकस्थित मन्त्रिक्वाटर स्रोतका अनुसार आज कोही पनि मन्त्रीहरु सिंहदरवार जाने छैनन् । पदमुक्त हुने मन्त्रीहरुमा अर्थमन्त्री विष्णु पौडलसहितका सबै मन्त्रीहरु छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह साढे दुई वजे राष्ट्रपति भवनमा शपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्रीको शपथसँगै ओलीले सानो मन्त्रिमण्डल बनाउने वा यसअघिका सबै मन्त्रीहरुलाई तत् मन्त्रालयमा शपथ ग्रहण गराउने भन्ने विषयमा बालुवाटारमा छलफल भइरहेको स्रोतको दावी छ । यस पटक जसपाबाट समेत केही व्यक्तिहरु मन्त्री बन्ने सम्भावना रहेको बताइन्छ ।

अर्थमन्त्रीमा विष्ण पौडेललाई नै निरन्तरता दिने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । तथापि माधव नेपाल समुहबाट समेत केही व्यक्तिहरुलाई मन्त्री बनाउनुपर्ने भएकोले मन्त्रिमण्डलमा सामान्य हेरफेर हुनसक्ने जनाइएको छ ।

स्रोतका अनुसार अर्थमन्त्री पौडेल, गृहमन्त्री बादल, जसपाबाट राजेन्द्र महतो, नेपाल समुहबाट बिरोध खतिवडा र सुरेन्द्र पाण्डे मन्त्री बन्ने सम्भावना रहेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*