आजबाट निषेधाज्ञा थप कडा बनाइदै, तरकारी खाद्यान्न किन्ने समय समेत घटाइदै

११ जेष्ठ २०७८, मंगलवार ०८:५३

काठमाडौं । राजधानी काठमाडौं कोरोना भाइरसको नियन्त्रण आशा गरेभन्दा ढिलो भएपछि स्थानीय प्रशासनले जारी निषेधाज्ञामा थप कडाई गर्ने भएको छ । सो सम्बन्धमा छलफल गर्न आजै उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

तरकारी र खाद्यान्न किन्ने नाममा विहान सडकमा जाम नै हुने गरी मानिसहरु बाहिर निस्कन थालेपछि कोरोना संक्रमणको चेन ब्रेक गर्न असफल भएको निष्कर्षसहित नियन्त्रणामा ढिलाई भएको कोणबाट छलफल गरिएको र सम्भवतः आज बस्ने राजधानीका तीन वटै प्रशासनको संयुक्त बैठकले तरकारी र खाद्यान्न किन्ने समय घटाएर जारी निषेधाज्ञालाई थप कडाई गर्ने जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मानिसहरु बाहिर निस्कने क्रम नरोकिएकोले कोरोना भाइरस नियन्त्रणमा आउन ढिलार्ई भएको सुझावहरु आइरहेकोले आज छलफल हुने बताए ।

सरकारले अध्यादेशमार्फत जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा समेत मंगलबारको बैठकबाट निर्णय हुन सक्ने बताइएको छ । नयाँ अध्यादेशमा उल्लेखित व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्दा एक सातामा महामारीको चेनब्रेक हुन सक्ने जनाइएको छ ।

आजको बैठकमा अध्यादेशमा व्यवस्था गरिएको निषेधाज्ञाको पालना नगर्नेलाई जरिवना तोक्ने सम्बन्धमा पनि छलफल हुने बताए । नयाँ अध्यादेशको उल्लंघन गर्नेविरुद्ध छ महिनासम्म कैद र तीनलाखसम्म जरिवानाको व्यवस्था गरेको छ । नयाँ अध्यादेश अनुसार मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेकपटक एक सय रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा समेत रोक लगाइएको अवस्थामा हिँडडुल गर्दा मात्रै प्रत्येक पटक दुई सय रुपैयाँ, अनुमति विना सवारी चलाएमा दुई पांग्रेको हकमा एकपटकमा दुई सय रुपैयाँ र चार पांग्रेको हकमा पाँच सय रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था उल्लेख रहेको पराजुलीले जानकारी दिए । सर्वोच्च अदालतले त्यसरी होल्डिङ सेन्टरमा राखेर कारवाही नगर्नु भन्ने आदेश दिइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*