जेठ २० गतेसम्म बीमा कम्पनी खोल्न नपाउने, खाद्यान्न पसल आज र भोलि मात्रै खुल्ने

१२ जेष्ठ २०७८, बुधबार ०८:३०

काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको हिजो बसेको संयुक्त बैठकले जारी लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ । जस अनुसार बीमा कम्पनीहरु आगामी जेठ २० गतेसम्म खोल्न नपाइने भएको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा कम्पनी लगायतका सबै कार्यालयहरु आगामी जेठ २० गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

काठमाडौं प्रशासनद्वारा हिजो जारी सूचना अनुसार राजधानीभित्र खुल्ने बैंकका शाखाहरुको संख्या समेत घटाइएकोछ । बाणिज्य बैंकलाई राजधानीभित्र मुख्य कार्यालयसहित ३ र विकास बैंकको हकमा मुख्य कार्यालयसहित दुई वटा शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिइएको छ ।

काठमाडौं प्रशासनले जारी गरेको आदेश अनुसार बैंक, अत्यावश्यक सरकारी कार्यालय, इन्टरनेट, बिजुलीका कर्मचारीहरुलाई विहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म कार्यालय पुगिसक्नुपर्नेछ भने साँझ ५ः०० बजेदेखि ६ः०० बजेसम्म घर फर्कन दिइनेछ । अत्यावश्यक सेवाको नाममा दिनभरि सडकमा हिड्नेहरु बढेपछि प्रशासनले अब कार्यालय जान र आउने मात्रै दिने नीति अख्तियार गरेको जनाएको छ ।

नयाँ व्यवस्था अनुसार जेठ २० गतेसम्म खाद्यान्न र किराना पसल समेत खोल्न पाइने छैन । दुध, मासु र तरकारी, फलफूल, पानी पसल भने विहान ९ः०० बजेसम्म मात्रै खोल्न पाइने छ । काठमाडौं प्रशासन पसलभन्दा बाहिर फुटपाथमा कुनै पनि सामान बिक्री गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेकोछ ।

काठमाडौं प्रशासनले यसअघि जारी गरेको सबै पासहरु रद्द गरिएको सूचनामा जनाइएको छ । त्यस्तै सीमित मात्रामा पासहरु प्रशासन कार्यालयबाट पाइने जनाइएको छ ।

काठमाडौं प्रशासनले जारी गरेको नयाँ नियम यही जेठ १४ गतेबाट लागू हुनेछ । यसअघि जारी गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म जारी रहने हुँदा आज र भोलि पूर्ववत रुपमा कार्यालयहरु सञ्चालन हुनेछन् भने किराना पसलहरु खुल्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*