बैशाख मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीको व्यवसाय २४ अर्बमाथि

शिखरको अग्रता कायमै, नेको र सगरमाथाबीच रोचक प्रतिस्पर्धा, कुन कम्पनीको व्यवसाय कति ? (तथ्याङ्कसहित)
१६ जेष्ठ २०७८, आईतवार २०:३३

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आवको १० महिनामा साढे २४ अर्बभन्दा बढिको बीमा व्यवसाय गर्न सफल भएका छन् । चालु आवको सुरुवातको दुई महिना र बैशाख महिना कोरोना भाइरसको चपेटामा परेर निर्जिवन बीमा व्यवसायमा अपेक्षा गरे अनुरुप बृद्धि हुन नसके पनि १९ निर्जिवन बीमा कम्पनीहरुले २४ अर्ब ६२ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपालमा सञ्चालित कूल २० वटा निर्जिवन बीमा कम्पनी मध्ये सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीले तथ्याङ्क उपलब्ध नगराएको कारण बीमा समितिबाट प्राप्त तथ्याङ्कमा समावेश छैन ।

चालु आवको १० महिनामा शिखर इन्स्योरेन्स अन्य प्रतिस्पर्धी कम्पनीभन्दा निकै अगाडि देखिएको छ । सो कम्पनीले तीन अर्ब १९ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।


दोस्रो स्थानका लागि नेको इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स बीच निकै कडा र रोचक प्रतिस्पर्धा चलेको देखिएको छ । नेको र सगरमाथाको बीचमा एक करोड रुपैयाँको मात्रै बीमा शुल्क आम्दानी फरक देखिएको छ । रोचक कुरा के छ भने चैत्रसम्ममा सगरमाथा भन्दा पछाडि रहेको नेको कोरोना महामारीकै बीचमा १४ एकै महिनामा १४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेर दोस्रो स्थानमा पुगेको छ । चैत्र महिनामा सगरमाथा इन्स्योरेन्स कम्पनीले जम्मा नौ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । गत वर्षसम्म निकै पछाडि रहेको एनएलजी इन्स्योरेन्स कम्पनीको फड्को मार्ने क्रम जारी छ । सो कम्पनीले कोरोना महामारीका बीचमा एक अर्ब ८१ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । यही रफ्तारमा प्रगति गर्दै गएमा अबको केही महिनाभित्रैमा सिद्धार्थ, सगरमाथा र नेको इन्स्योरेन्स कम्पनीसँग प्रतिस्र्धा गर्न सक्षम हुने कम्पनीको रुपमा एनएलजीले उभ्याउन सफल भएको छ ।

चालु आवको १० महिनामा प्रिमियर इन्स्योरेन्स कम्पनीले एक अर्ब ५२ करोड, आईएमई जनरलले एक अर्ब २२ करोड, प्रभु इन्स्योरेन्स कम्पनीले एक अर्ब २० करोड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एक अर्ब १३ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले एक अर्ब १० करोड, अजोड इन्स्योरेन्स कम्पनीले एक अर्ब छ करोड र नेपाल इन्स्योरेन्स कम्पनीले एक अर्ब चार करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेका छन् । एक अर्बभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरुमा हिमालयन जनरल, दि ओरियन्टल, एभरेष्ट, युनाइटेड, नेशनल, जनरल र सानिमा जनरल रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*