प्रभु बैंकको ऋणपत्रमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने

१७ जेष्ठ २०७८, सोमबार ११:०३

काठमाडौं । प्रभु बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने म्याद थपेको छ । बैंकले निष्काशन गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने समय थप गरिएको हो ।

जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेका बैंकको ‘८.५० प्रतिशत प्रभु बैंक ऋणपत्र–२०८७’ नामक सो ऋणपत्रमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

१० वर्षको अवधि रहेको सो ऋणपत्रमा बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशनमा ल्याएको हो । सोमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको छ ।

सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १५ लाख ९७ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्ने जनाएको छ ।

बंैकका अनुसार लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*