प्रधानमन्त्रीका विशेष सल्लाहकार र मन्त्रीले नै पाएनन् पुनर्बीमाको लाइसेन्स

काठमाडौं । बीमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई छनौट गरेपछि प्रधानमन्त्री केपी ओली निकट केही उच्च प्रभावशाली व्यक्तिहरु समेत पुनर्बीमा कम्पनी दर्ता गर्ने खेलबाट बाहिरिएका छन् ।
बीमा समितिले आह्वान गरेको सूचना अनुसार आवेदन दिन जानेहरुमा केपी शर्मा ओलीको मन्त्रिमण्डलकी सदस्य जुली महतोकी आफ्नै दाजु बीरेन्द्र महतो समेतको लगानी रहेको अन्नपूर्णा रि इन्स्योरेन्स कम्पनी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडसहितको लगानी रहेको काठमाडौं रि इन्स्योरेन्स कम्पनीले पुनर्बीमाको लाइसेन्स नपाउने भएका हुन् ।
बीमा समितिले एउटा मात्रै पुनर्बीमा कम्पनी दर्ता गर्न सूचना प्रकाशन गरेकोले छनौटमा नपरेका दुवै कम्पनीहरुले पुनर्बीमा कम्पनी दर्ता गर्न नपाउने भएका छन् ।

प्रस्तावित हिमालयन रि इन्स्योरेन्स कम्पनीमा एमभी ग्रुपको तर्फबाट लगानी गर्ने मोतिलाल दुगड
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार दुगडले लाइसेन्स नपाए पनि सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगडको समुहले भने लाइसेन्स पाउने पक्का भएको छ । लाइसेन्स प्राप्त गर्न योग्य भन्दै बीमा समितिले प्रक्रिया अघि बढाएको हिमालयन रि इन्स्योरेन्समा नेपाल उद्योग बाणिज्य महासंघका वर्तमान अध्यक्ष, दुई पूर्व अध्यक्षसहितका टोलीमा सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगड समेत छन् । उनी काठमाडौंका हुन् भने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल विराटनगरका हुन् । नेपाली उद्योग बाणिज्य क्षेत्रमा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार अर्थ राजनीति बुझेका अर्थतन्त्रका ज्ञाता हुन् भने पुनर्बीमा कम्पनीको लाइसेन्स पाउने सूचिमा रहेका काठमाडौं निवासी मोतिलाल विशुद्ध व्यापारी हुन् ।
पैसा र पावरको प्रभावमा ठूलो लडाई चलेको पुनर्बीमा कम्पनी दर्ता गर्दा प्रधानमन्त्री ओली निकटकै अर्का व्यक्ति दिपक भट्टले बाजी मारेका छन् । त्यसो खुफिया एजेन्सीका लागि समेत काम गर्ने भट्टले यसअघि नै पुनर्बीमा कम्पनीको लाइसेन्स लिएर उद्योगी व्यापारीहरुलाई बिक्री गर्ने चर्चा चलेको थियो ।