साढे १० प्रतिशत लाभांश दिने एनएलजी इन्स्योरेन्सको निर्णय, शेयरधनीले १० प्रतिशत बोनस शेयर पाउने

१७ जेष्ठ २०७८, सोमबार २३:४१

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको संचित मुनाफाबाट साढे १० प्रतिशतभन्दा बढि लाभांश दिने निर्णय गरेको छ । आज अपरान्ह ५ः०० बजे बसेको सञ्चालक समितिको ३२२ औं बैठकले कूल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले आव २०७६।०७७ मा आर्जित मुनाफाबाट १० प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद सहित कूल १०.५२६ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले प्राप्त गर्नेछन् । एनएलजीका अनुसार हाल प्रस्तावित सो लाभांशलाई बीमा समितिबाट स्वीकृत भएमा मात्रै आगामी बार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको जनाएको छ ।

एक अर्ब ९ करोड ६३ लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजि रहेको कम्पनीको प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरण पछिको चुक्ता पुँजि एक अर्ब २० करोड ६० लाख १३ हजार रुपैयाँ भन्दा बढि हुनेछ । एनएफआरको कारण लाभांश वितरणमा प्रभावित भएको कम्पनीले विगतका वर्षहरुमा अधिकतम् २६ प्रतिशतसम्म लाभांश दिएकोमा आगामी वर्षबाट भने पुरानै विराशतमा फर्र्कने विश्वास गरिएको छ । एनएलजी बीमा कम्पनीहरु मध्येका राम्रो लाभांश दिने कम्पनीको सूचिमा पर्दै आएको छ । एनएफआरएसका कारण गत वर्ष धेरै बीमा कम्पनीहरुले लाभांश दिन नसक्दा समेत ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*