कोरोना बीमा खारेज गर्न माग गर्दै मुद्दा दायर गर्ने अधिवक्ता राइको कोरोनाबाट निधन

१८ जेष्ठ २०७८, मंगलवार १०:०८

काठमाडौं । कोरोना बीमा पोलिसी जारी गर्ने बीमा समितिको निर्णय गैर कानुनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका अधिवक्ता भाइराजा राइको कोरोना संक्रमणकै कारण हिजो निधन भएको छ । पारिवारिक स्रोतका अनुसार हिजो अपरान्ह काठमाडौंमा उपचारको क्रममा अधिवक्ता राइको निधन भएको हो । उनको हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

उनले २०७७ साल भदौं २९ गते सर्वोच्च अदालतमा अधिवक्ता राईसहितले दायर गरेको रिट अझै टुंगो लागिसकेको छैन । स्व. राइले बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ बीमा ऐनसँग बाझिएको, सरकारले कोरोना बीमाको दायित्व बहन गर्न नमिल्ने, महामारीको बीमा गर्न नपाइने विश्वव्यापी मान्यता विपरित बीमा पोलिसी बिक्री गर्न अनुमति दिएकोले खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यस अवधीमा १० पटक पेशीमा चढेको उनको मुद्दा किनारा लाग्न नपाउँदै कोरोना भाइरसबाट पराजित हुन पुगेका छन् । कोरोना बीमा विरुद्धमा परेको मुद्दा पछिल्लो पटक गत चैत्र १६ गते न्यायाधिश अनिल कुमार सिन्हा र हरि प्रसाद फुयालको बेन्चमा परेर हेर्न नभ्याईने भन्दै स्थगित भएको थियो । कोरोना बीमा खारेज गर्न माग गर्दै दायर भएको रिटमा तीन पटक आदेश भई पछिल्लो पटक मुद्दाले अग्राधिकार पाएको अवस्था छ । यद्यपि हाल कोरोना भाइरसको कारण इजलाश स्थगित भएकोले पेशीमा चढेको छैन ।

बीमा क्षेत्रको गैर कानुनी कार्य सुधार गर्ने उद्देश्यले कोरोना बीमा खारेज गर्न माग गर्दै मुद्दा दायर गरेका राईको कोरोना भाइरसकै कारण निधन हुन पुगेको छ ।

उनको परिवारमा हिजै अर्को बज्रपात परेको छ । भारतको लखनउमा बसोबास गर्दै आएका उनका जेठा दाजु सागर बान्तवा राइको हिजो विहान ३ बजे लखनउस्थित एक अस्पतालमा कोरोना भाइरसकै कारण निधन भएको थियो । दुवै दाजुभाइको पछिल्लो १० दिनभन्दा बढि समयदेखि भेन्टिलेटरमा राखेर उपचार हुँदै थियो । स्थायी घर झापा जुरोपानी भएका राई लामो समयदेखि काठमाडौंमा वकालत पेशामा आबद्ध थिए ।

यसैबीच, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थशास्त्री डा. गोबिन्दबहादुर थापाको मंगलबार बिहान कोरोना संक्रमणका कारण निधन भएको छ। उनको गंगालाल हस्पिटलमा उपचार हुँदै आएकोमा आज विहान निधन भएको हो।

एक महिनादेखि कोरोना संक्रमणबाट ग्रस्त बनेका थापाको आजै अन्तिम संस्कार गरिएको जनाइएको छ ।

One thought on “कोरोना बीमा खारेज गर्न माग गर्दै मुद्दा दायर गर्ने अधिवक्ता राइको कोरोनाबाट निधन

  1. Shreekant Adhikari says:

    “आफु जलेर अरुलाई उज्यालो छरेर गयौ”
    नेपालआमा माथीको अराजकता रोक्दा रोक्दै आज आफै शिकार भएर गयौ !!
    “राईट टु रिजे‌क्ट” को ब्रह्माश्त्र नेपाली जनतालाई दिलाई आज गुमनाम शहिद भएर गयौ ,
    गुमनाम शहिद भएर गयौ !!
    भावपुर्ण श्रद्धा सुमन् भाईराजा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*