प्रस्तावित हिमालयन रि इन्स्योरेन्समा गुराँस र युनियन लाइफको बर्चश्व

गुराँस लाइफका पूर्व अध्यक्ष मोतिलाल, वर्तमान अध्यक्ष विवेक दुगड, युनियनका अध्यक्ष सुलभ अग्रवाल र नेशनलकी सञ्चालक भवानी राणा हिमालयन रि इन्स्योरेन्समा मुख्य लगानीकर्ता
१८ जेष्ठ २०७८, मंगलवार ११:२२

काठमाडौं । बीमा समितिले बिजुलीको बेगमा लाइसेन्स दिने निर्णय गरेसँगै हिमालयन रि इन्स्योरेन्स कम्पनीमा आबद्ध व्यक्तिहरुको खोजी बढेको छ । पाँच वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएकोमा अन्य चार कम्पनीलाई पाखा लगाएर लाइसेन्स पाउन सफल हिमालयन रि इन्स्योरेन्समा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीका बर्चश्व रहेको पाइएको छ । गुराँस लाइफका तीन जना लगानीकर्ता हिमालयन रि इन्स्योरेन्समा छन् भने युनियनका दुई जना तथा नेशनल लाइफकी एक जना रहेका छन् ।

हिमालयन रि इन्स्योरेन्स क्षेत्रमा नेपालकै बीमा क्षेत्रका व्यक्तिहरुको मुख्य लगानी रहेको खुलेको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवाल, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालिका भवानी राणा तथा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका पूर्व अध्यक्ष मोतिलाल दुगड तथा वर्तमान अध्यक्ष विवेक दुगड हिमालयन रि इन्स्योरेन्स कम्पनीको मुख्य लगानीकर्ता मध्येका हुन् ।

मोतिलाल दुगडको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा झण्डै २३ लाख कित्ता संस्थापक शेयर छ । उनी सो कम्पनीका पूर्व अध्यक्ष समेत हुन् । हाल सनराइज बैंकको अध्यक्ष रहेका दुगडको हिमालयन रि इन्स्योरेन्समा ठूलो हिस्सा शेयर रहेको छ । त्यसो त नयाँ कम्पनीमा गुराँस लाइफकै विकास दुगडले समेत लगानी गर्ने जनाइएको छ । गराँस लाइफमा १० लाख कित्ता संस्थापक शेयर भएका विकास केएल दुगड ग्रुपका मालिक हुन् । त्यस्तै, गुराँस लाइफमै २८ करोड भन्दा बढि लगानी गरेका विवेक दुगड समेत नयाँ खुल्ने हिमालयन रि इन्स्योरेन्स कम्पनीमा सञ्चालक बन्दैछन् । विवेक एमभी ग्रुपका उपाध्यक्ष हुन् ।

प्रस्ताविक हिमालयन रि इन्स्योरेन्समा लगानी गर्ने मध्ये नेशनल लाइफकी सञ्चालिका भवानी राणा पनि हुन् । नेपाल उद्योग बाणिज्य महासंघकी पूर्व अध्यक्ष तथा स्नेहा ग्रुपकी अध्यक्ष हुन् । उनको नेपालगन्जमा स्नेहा होटल समेत छ । उनले राम्रै रकम लगानी गर्न लागेको बुझिएको छ ।

हिमालयन रि इन्स्योरेन्समा लगानीकर्ता भनि चर्चा रहेका युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवाल जगदम्बा ग्रुपका मालिक मध्येका हुन् । उनका दाजु साहिल अग्रवाल, जो टिभिएस मोटरसाइकल र जगदम्बा स्टील्स र सिमेन्ट हेर्ने गर्दछन् उनी समेत हिमालयन रि इन्स्योरेन्स कम्पनीका प्रस्तावित शेयरहोल्डर हुन् । हालका उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको मुख्य लगानीकर्ता मध्ये एक शेखर गोल्छा हिमालयन रि इन्स्योरेन्स कम्पनीका मुख्य लगानीकर्ता मध्येका एक हुन् । गोल्छा अर्गनाइजेशनका संस्थापन हुलासचन्द गोल्छाका छोरा शेखर बजाज मोटरसाइकल लगायतका उक्त अर्गनाइजेशनका मुख्य हर्ताकर्ता हुन् । उनको युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा राम्रै शेयर लगानी छ ।

बीमा क्षेत्र बाहेकका सतिश कुमार मोर नेपाल उद्योग परिसंघका अध्यक्ष छन् । उनी समेत हिमालयन रि इन्स्योरेन्स कम्पनीमा ठुलै मात्रामा शेयर लिएर लगानी गरेका छन् । त्यस्तै रोहित कुमार गुप्ताको समेत लगानी रहेको चर्चा चलेको छ । यस बाहेक केही नाम चलेका संस्थाको लगानी रहने जनाइएको हिमालयन रि इन्स्योरेन्सलाई बीमा समितिले आवेदनमार्फत उत्कृष्ट कम्पनीको रुपमा छनौट गरी कम्पनी दर्ताको लागि आशय पत्र दिने तयारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*