हिमालय एअरलाइन्सले दुई लाख डोज भेरोसेल खोप निशुल्क ढुवानी गर्दै

१८ जेष्ठ २०७८, मंगलवार १६:२१

काठमाडौं । हिमालय एअरलाइन्सले चीन सरकारद्धारा नेपाललाई अनुदान सहयोग स्वरुप प्राप्त दुई लाख डोज भेरोेसेल खोप निशुल्क ढुवानी गर्ने भएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट बढेसँगै नेपाल सरकारले खोप संचालन कार्यक्रम पनि तीव्र रुपले अगाडि बढाएको छ । यसैबीच हिमालय एअरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवद्घत्ता अनुरुप यस महामारीकाबीच जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र, तिव्वत सरकारले नेपाललाई अनुदान स्वरुप उपलब्ध गराएको भेरोसेल खोप निशुल्क ढुवानी गर्ने भएको हो । कम्पनीले २ करोड २५ लाख रुपैयाँ बराबरको कार्गो चार्टर उडान सेवा दिने भएको हो ।

हिमालय एअरलाइन्स्ले चारवटा उडानमार्फत् भेरोसेल खोप ढुवानी निशुल्क गर्न लागेको जनाएको छ । सो एअरलाइन्सको 319-115 9N-AJK एयरबसले जेठ १८ र १९ गते गरी तिव्वतको कुनमिङ्ग शहरमा चार पटक उडान गरी भेरोसेल खोपहरु ढुवानी गर्ने जनाएको छ । एअरलाइन्सका अनुसार हिमालयका ती उडानहरुले भेरो सेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकसहरु बोक्ने जनाइएको छ ।

एअलाइन्सका निशुल्क उडानहरुमध्ये पहिलो कार्गो उडान काठमाडौंबाट हिजो सोमबार साझ ८ बजेर २८ मिनेटमा कुनमिङ्ग उडेको जहाज आज मंगलबार बिहान ६ः२८ मा काठमाडौं अवतरण गरिसकेको छ ।

“कोभिड–१९ महामारी विरुद्घ लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पुर्याउन हिमालय एअरलाइन्स् तथा सम्वद्घ समूहका लागि यो एक ऐतिहासिक क्षण हो । राष्ट्रिय संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो ।” एअरलाइन्स्का अध्यक्ष झो एन्योङ्गले भने ।

हिमालयले आफ्ना यात्रुवाहक तथा कार्गोवाहक उडानहरु अत्यन्तै उच्च तहको उडान सुरक्षा मापदण्ड पालन गरि सञ्चालन गरेको दाबी समेत गरेको छ । साथै कार्गो परिवहन गरिने खोपको सुरक्षाका लागि एअरलाइन्स्ले अत्यन्तै व्यवस्थित लोडिङ्ग र ओसार–प्रसारका विधिहरु समेत अवलम्वन गरेको बताएको छ ।

“कोभिड–१९ संक्रमणको दोस्रो महामारीका समयमा हिमालयले राष्ट्र सेवामा पुर्याएको यो सानो, तर महत्वपूर्ण योगदान हो । विपद्का वखतमा हिमालय जहिले पनि नेपाली जनता र सरकारका साथ रहन्छ,” खोपको पहिलो खेप काठमाडौ आइपुग्दा कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने ।

कम्पनीले यस अघि सरकारको कोभिड–१९ नियन्त्रण कोषमा १ करोड सहयोग रकम जम्मा गर्नुका साथै देशका विभिन्न स्वास्थ्य संस्थाहरु, जस्तै आम्दा हस्पिटल (दमक), प्रदेश ५ स्थित गुल्मीको विपद् व्यवस्थापन केन्द्र, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल आदिलाई पि.सि.आर परीक्षण गर्ने मेसिनहरु, पोर्टेवल भेन्टिलेटरहरु, इन्फ्रारेड थर्मा मिटरहरु र ती हस्पिटलका स्वास्थ्यकर्मीहरुका लागि पि.पि.ई. सेटहरु समेत सहयोग गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*