दरवार हत्याकाण्डको २० पूरा, सत्य–तथ्य किन अझै रहस्यमय ? ज्ञानेन्द्र शाह नामको ट्वीटरमा लेखियो, यथार्थ थाहा पाउन समय लाग्छ

१९ जेष्ठ २०७८, बुधबार ११:४९

काठमाडौं । जेठ १९ अर्थात नेपालको राजतन्त्रको लागि एउटा भयानक दिन् । यद्यपि आज नेपालमा राजतन्त्रात्मक शासन व्यवस्था त छैन तर आम मानिसहरु २०५८ साल जेठ १९ गते राति नारायणहिटी हत्याकाण्डमा मारिएका तत्कालिन राजा वीरेन्द्र शाहलाई सम्झदै फेसबुकमा पोष्टहरु गर्दैछन् । घट्ना भएको २० वर्ष पूरा भएको छ । तर, अझैसम्म पनि तत्कालिन राजा वीरेन्द्रको हत्या किन र कसले गरेको हो ? भन्ने बाहिर आइसकेको छैन । तत्कालिन सरकारले सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठन गरेको समितिले राजपरिवारकै सदस्य दीपेन्द्रले नशाको सुरमा आफ्नो बंश नै नास गरेको प्रतिवेदन बाहिर ल्याएको थियो । आम जनता उक्त प्रतिवेदन झूठो र प्रयोजित भन्दै २० वर्षसम्म पनि विश्वास गरेका छैनन् ।

तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र र निराजन तथा वीरेन्द्रकी छोरी श्रुती शाहसहित दर्जन जतिको हत्या भएको सो काण्डको यथार्थ अझै रहस्यकै गर्भमा छ । आम मानिसहरुले अझैसम्म हत्याको यथार्थ बाहिर ल्याउन नचाहेको तर्क गरिरहेका छन् । यथार्थमा उक्त हत्याकाण्डमा कसको हात थियो र कसले गरायो ? यसमा धेरैखालका तर्क र बहसहरु भइरहन्छन् । २०५८ साल साउन भदौंतिर प्रकाशित छहरा साप्ताहिकले अमेरिकी सिआईएको योजनामा भारतीय जासुसी संस्था रअ समेतको मिलेमतोमा दरवार हत्याकाण्ड रचिएको र राजपरिवारको बंश बिनाश गरिएको समाचार प्रकाशित गरेको थियो । त्यतिबेला धेरैले त्यसपछि राजपरिवारमा उत्तराधिकारी हुन आएका ज्ञानेन्द्र शाह र पारस शाहमाथि समेत आरोप लगाउने गरेका थिए । तर, आजसम्म आईपुग्दा ज्ञानेन्द्र शाह वा पारसको संलग्नता कही कतै देखिदैन बरु विदेशीको हात रहेको भन्दै २०५८ सालमै प्रकाशित छहरा साप्ताहिकको उक्त खोजलाई भने सत्य नजिक हो कि भनेर विश्वास गर्नेहरु धेरै छन् ।


दरवार हत्या काण्डको २० वर्ष सो घटनामा बाँच्न सफल भई केही वर्ष राजकाज चलाएका पूर्व राजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जालमार्फत दरवार हत्याकाण्ड र उनका दाजु बीरेन्द्र शाहको हत्याको यथार्थ जानकारी पाउन धेरै समय कुर्नपर्ने हुनसक्ने अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आज ज्ञानेन्द्र शाहले लेखेका छन्, ‘एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ । अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन । प्रिय दाजू र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जलि ।’ उक्त ट्वीटर ह्याण्डल पूर्व राजा ज्ञानेन्द्र शाह आफैल चलाउने भने होइन । ज्ञानेन्द्र शाहको सचिवालयका अनुसार उक्त ट्वीटरमा छलफल र सल्लाह गरेर मात्रै महत्वपूर्ण कुराहरु पोष्ट हुने गरेका छन् । बक्तव्य जारी गर्नु नपर्ने खालका स्टाटसहरु यस ट्वीटर ह्याण्डलमार्फत बाहिर सम्प्रेषण गर्ने गरिएको निर्मल निवास स्रोतले जनाएको छ । उक्त अभिव्यक्तिमा ज्ञानेन्द्र शाहकै छलफलमा पोष्ट गरिने गरेको जनाइएको छ ।


ज्ञानेन्द्र शाहको उक्त अभिव्यक्तिले दरवार हत्या काण्डको सत्यता अझै बाहिर नआएको प्रष्ट भान भएको छ । ‘अनुत्तरित प्रश्नका उत्तरहरु पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्दछ कसैलाई थाहा छैन’ भन्ने वाक्यांशले २०५८ जेठ १९ मा नारायणहिटी राजदरमा भएको हत्याकाण्डभित्र गम्भिर रहस्य रहेको खुलेको छ । उनले दरवार हत्याकाण्ड आफ्नो परिवारमाथि जीवनभर भुल्न नसकिने चोटका रुपमा रहने स्मरण गरेका छन् ।


रहस्यमय किन ?
पहिलो र दोस्रो विश्वयुद्धमा विश्वभर बहादुरी देखाएको नेपाली सेनाको घेराभित्र नारायणहिटीमा बस्दै आएका वीरेन्द्र शाहको जेठ १९ गते शुक्रबार राति आयोजित पार्टीमा अत्याधुनिक हतियारद्वारा गोली प्रहार गरी हत्या गरिएको थियो । गोलीको निशानामा बीरेन्द्रका परिवारहरु बढि परेका थिए । सो घटनापछि तत्कालिन राजा बीरेन्द्रको बंश आंशिक रुपमा नाश हुन पुगेको छ । छोरी श्रुतीका दुई सन्तान भने जीवितै छन् । पूर्व रानी कोमल शाहलाई पनि गोली नलागेको होइन, उनको पेटबाट गोली निकालेर अप्रेशन गरिएको थियो भने तत्कालिन शाहज्यादा पारस शाह र शाही थरका एक राजपरिवारका सदस्यलाई भने एक गोली पनि लागेका थिएन । उक्त घटना हुने दिन ज्ञानेन्द्र शाह दरवारमा थिएनन् भन्ने छ । सत्य यति हो, भोलिपल्ट उनी पोखराबाट काठमाडौं आएर राजगद्धि सम्हालेका थिए । घटनापछि बाँच्नको लागि भागेर पोखरा पुगेका थिए वा घटनाबारे पूर्व सूचना पाएर पहिलो नै सुरक्षित रहेका थिए वा संयोग भन्ने कुरा ज्ञानेन्द्र शाहलाई मात्रै थाहा छ ।

राजदरवार हत्या काण्डपछि सो घटनामा जीवितै रहन सफल प्रेक्ष्या राज्यलक्ष्मी शाहको शंकास्पद मृत्युले नारायणहिटी हत्याकाण्ड थप रहस्यमय बनाएको छ । प्रेक्ष्याको मुगुको रारा ताल घुम्न जाँदा हेलिकोप्टर दुर्घटना भई बेपत्ता भएको अहिलेसम्म फेला परेकी छैनन् ।


घटनाको २० वर्षपछि पनि आम जनताको मष्तिस्कमा आजको दिन उक्त हत्याकाण्ड सम्झने गर्दछन् । हत्याकाण्ड रहस्यमय बनाइएकोमा आलोचना गर्ने गर्दछन् । त्यसो त नेपालमा केही घटनाहरु यस्तै रहस्यमय नै छ । २०५० जेठ ३ गते मदन भण्डारीको चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएको थियो । रहस्यात्मक कुरा के छ भने मदन भण्डारीको दुर्घटनामा निधन हुँदा सो घटनामा जीवितै बाँच्न सफल चालक अमर लामाको हत्या काठमाडौंको कीर्तिपुरमा भयो, त्यो पनि माओवादीको स्पेशन टास्कफोर्सको नाममा । त्यसैले यी हत्या काण्डहरु रहस्यकै गर्भमा छन् । नेपाली जनता स्वतन्त्र र सार्वभौम बन्न नसक्दा यी र यस्तै घटना दर्जनौं घटनाहरु रहस्यमै रहनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*