नेप्सेद्वारा खानीखोला हाइड्रोमाथि कारवाही, शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले खानिखोला हाइड्रोपावर कम्पनीलाई समयमा वित्तीय विवरण प्रकाशन नगरेको भन्दै कारवाही गरेको छ । नेप्सेले कारवाही स्वरुप सो कम्पनीको कारोबार आजदेखि सेयर कारोबार रोक्का गरेको हो ।
खानी खोला हाइड्रोपावर कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेको कारण कारवाही स्वरुप सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरू पेश गरेको नपाइएकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (घ) मा भएको व्यवस्था बमोजिम कारवाही गर्दै हिजो जेठ २० गते, बिहीबारबाट कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । खानीखोलाले चालु आर्थिक वर्षको तीन वटै त्रैमासको वित्तीय विवरण नबुझाएको नेप्सेले जनाएको छ ।
बुधबार धितोपत्र बोर्डले तीन जलविद्युत कम्पनीलाई कारबाही गर्न नेप्सेलाई पत्र काटेको थियो । हिमाल दोलखा हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर कम्पनी र खानीखोला हाइड्रो पावर कम्पनीले समयमा वित्तीय विवरण सार्वजनिक नगरेको कारण कारबाहीको माग गर्दै केशब कोइरालाले मंगलबार बोर्डमा निवेदन दिएका थिए ।