टुटल र पठाओ पनि जोर विजोर गर्दै संचालनमा आउने

७ असार २०७८, सोमबार १३:३८

काठमाडौं । राइड सेयरिङ कम्पनीहरु टुटल र पठाओ पनि संचालनमा आउने भएका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासनले मंगलबारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै निजी सवारी साधनमा जोर विजोर प्रणाली नियम सुरु गरेको छ ।

आइतबार बसेको तीनै जिल्लाको सिडिओहरुको बैठकले निजी सवारी साधनमा जोर/विजोर प्रणाली सुरु गर्ने निर्णय गरेपछि भोलिदेखि टुटल र पठाओ पनि संचालनमा आउने भएका हुन् ।

राइड सेयरिङ कम्पनी पठाओका कन्ट्री डाइरेक्टर आसिममान सिंह बस्न्यातका अनुसार भोलीदेखि जोर/विजोर प्रणालीअनुसार पठाओ संचालन हुनेछ । आइतबारको निर्णयअनुसार उपत्यकाका तीन जिल्लामा बढीमा तीन जना राखेर ट्याक्सी पनि संचालन गर्न पाउने भएपछि राइड सेयरिङ कम्पनी पठाओ पनि संचालनमा आउने बस्न्यातले बताएका हुन् ।

‘प्रशासनले ट्याक्सीलाई सञ्चालन अनुमति दिने तर, राइड सेयरिङ कम्पनीलाई रोक्ने हुन सक्दैन’ बस्न्यातले भने ‘ट्याक्सी भन्दा सुरक्षित तबरबाट सेवा दिन्छौं’ ।

सरकारको निर्णयअनुसार हालसालै सार्वजनिक यातायात संचालनमा ल्याउन उपयुक्त नरहेको भन्दै यातायातको विकल्पमा यात्रुहरुलाई आवतजावत गर्न राइड सेयरिङ कम्पनी नै प्रभावकारी र सुरक्षित हुने बस्न्यातको भनाई छ ।

टुटलका संस्थापक शिक्षित भट्टले भोलि मंगलबारदेखि टुटलको सेवा जोर/विजोर प्रणालीअनुसार सुचारु हुने बताएका छन् । ‘जिल्ला प्रशासनले राइड सेयर कम्पनी नै तोकेर सञ्चालन अनुमति नदिएपनि हामी सेवा सुरु गर्न लागेको हौं’ उनले भने ‘प्रशासनले रोक लगाउनपनि सक्छ त्यो सञ्चालन भएपछि मात्रै थाहा हुन्छ’ ।

भट्टका अनुसार सार्वजनिक यातायात तत्कालै संचालनमा नआउने भएकाले यात्रुलाई यो सेवाले राहत दिने छ । राइडरहरुलाई स्वास्थ्य मापदण्ड पालना गराएर भोलीदेखि टुटल संचालनमा आउने भट्टले बताए । राइड सेयरिङ कम्पनीहरुले आफ्ना राइडरहरुलाई सेवा सुरु हुने भन्दै तयारी गर्न म्यासेज समेत पठाइसकेका छन् । गत बर्ष निषेधाज्ञा खुलेपनि यस्ता कम्पनी सञ्चालनमा आएका थिएनन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*