आजदेखि बीमा कम्पनीका सबै शाखा कार्यालयहरु खुल्दै, बीमा सेवा पूर्ण रुपमा सुचारु

८ असार २०७८, मंगलवार ०५:५६

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको यही असार ६ गते बसेको निर्णयसँगै आजदेखि राजधानी उपत्यकाका सबै बीमा कम्पनीहरु खुल्दैछन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले न्यूनतम जनशक्तिबाट दैनिक कार्यालय सञ्चालन गर्न पाउने व्यवस्था गरेसँगै आजदेखि निर्जिवन तथा जीवन बीमा कम्पनीका उपत्यकाभित्रका सबै शाखा कार्यालयहरु खुल्ला हुन लागेका हुन् ।

गत असार १७ गतेदेखि बन्द भएका बीमा कम्पनीका शाखा कार्यालयहरु एक महिना २२ दिनपछि आज खुल्न लागेका हुन् । कोरोना भाइरसको संक्रमण ह्वात्तै बृद्धिभएसँगै उपत्यका प्रशासनले बीमा कम्पनीका केन्द्रीय कार्यालय सहित बीमा सेवा नै स्थगित गर्ने निर्णय गरेको थियो । दुई साता पहिले केन्द्रीय कार्यालय सुचारु गर्न दिने निर्णय गरेपनि सबै शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिएको थिएन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि सबै शाखा कार्यालय तथा केन्द्रीय कार्यालय सञ्चालन गर्न पााउने जनाएको छ । यद्यपि सकेसम्म न्यूनतम कर्मचारी खटाउने तथा स्वास्थ्य सुरक्षाको मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।

सबै शाखा कार्यालय खुलेसँगै दावी भुक्तानी पूर्ण रुपमा सुचारु हुने भएका छन् । यसअघि अनलाईन दावी भुक्तानी गर्ने व्यवस्था मिलाइए पनि डिस्चार्ज भौचरमा हस्ताक्षर गराउनु पर्ने कारण पूर्ण रुपमा सुचारु हुन सकेको थिएन । आजदेखि बीमा सेवा पूर्ण रुपमा सुचारु हुने बीमा कम्पनीहरुले जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*