चर्को दवावपछि सामाजिक सुरक्षा कोषले नियम सच्याउँदै, आबद्ध कर्मचारीले थप ८ प्रतिशत लाभ पाउने

१५ असार २०७८, मंगलवार ००:०३

काठमाडौँ । बैंक, बीमा कम्पनीका कर्मचारीहरुको चर्को विरोधको सामना गरिरहेको सामाजिक सुरक्षा कोषले केही व्यवस्थाहरु संशोधन गरेको छ । अब कर्मचारीहरुले गरेको योगदानमा ८ प्रतिशत थपिने भएको छ । योगदानकर्ताले आर्थिक वर्ष २०७६।७७ मा गरेको योगदानमा ८ प्रतिशत थप पाउने भएका छन् ।

आव २०७६।७७ भित्र सुचीकृत योगदानकर्ता कोषको आव २०७६।७७ को वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६ सय ९८ रुपैयाँ र ८० पैसा वितरण योग्य रकमलाई कोषमा सम्बन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय कोषले गरेको आज जानकारी दिइयो ।

यो रकम कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा यथासक्य चाँडो जम्मा गर्ने बताएको छ । कोषले बैंकहरूमा पैसा राखेर पाएको ब्याज योगदानकर्तामा बाँडेको हो ।

सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन २०७५ कात्तिक २६ गते राजपत्रमा सुचना प्रकाशित गरि २०७६ साउन १ बाट निरन्तर योगदान रकम संकलन भइरहेको छ । हालसम्म कोषमा जम्मा १४ हजार ५ सय ८० रोजगारदाताका २ लाख ५१ हजार २ सय ९२ योगदानकर्ताबाट ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ ।

कोषले सञ्चालन गर्ने औषधीउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा अशक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार र वृद्धावस्था सुरक्षा योजनामा ८ सय ७४ योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम दावी भुक्तानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*