दलाल र माफियालाई अर्थमन्त्री शर्माको चेतावनी, अनुहार र जात हेर्दिन, पारदर्शीता र काम हेर्छु

३० असार २०७८, बुधबार २३:१८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्र्थिक क्षेत्रका बिचौलिया र माफियाले गर्ने सेटिङलाई ध्वस्त पार्दै अघि बढ्न राष्ट्र सेवक कर्मचारीहरुलाई आह्वान गरेका छन् । आज अर्थमन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अर्थमन्त्री शर्माले आफूले कसैको अनुहार र जात हेरेर भन्दा पनि काम हेरेर अघि बढ्ने बताएका छन् ।

अर्थमन्त्री शर्माले सबै राष्ट्र सेवक कर्मचारीहरुलाई पारदर्शिता र नतिजामुखी काममा जुट्न आह्वान गरेका छन् । अर्थमन्त्री शर्माले भ्रष्टाचारी, माफिया र सेटिङकर्ताले गर्न सक्ने अनियमिततातर्फ सचेत रहेर अघि बढ्न निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा आयोजित अर्थसचिव शिशिर कुमार ढुंगाना, राजश्व सचिव रामशरण पुडासैनी र महालेखा नियन्त्रक मधु कुमार मरासिनीको उपस्थितिमा मन्त्रालयका उपसचिव, सहसचिव तथा अन्य अधिकृतहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा अर्थमन्त्री शर्माले आफूले कुनै प्रकारको नाजायज काम गर्न मन्त्री बनेको नभई जनतालाई पारदर्शी र जवाफदेहीतापूर्ण कार्य गरेर नतिजा दिन चाहेको सन्देश दिएका थिए ।

अर्थमन्त्री शर्माको सम्बोधनको सम्पादित अंशः
नेपालको आर्थिक स्थिति हामी सबैलाई थाहै छ । यसलाई कसरी सबलीकरण गर्ने भन्ने प्रश्न अहिले मुख्य भएको छ । तपाईंहरुको निष्ठा, इमानदारिता, पारदर्शीताबाट मात्रै अर्थ मन्त्रालयको काम र नेपाल सरकारको उद्देश्यलाई अघि बढाउन सम्भव छ । सम्माननीय प्रधानमन्त्रीज्यूको भिजन र उद्देश्यलाई कार्यान्वयन गर्न सक्छौं । त्यसमा तपाईंहरुको साथ र सहयोगको अपेक्षा गरेको छु ।

मलाई अनुहार चाहिँदैन । मलाई जात चाहिँदैन । मलाई झण्डा पनि चाहिँदैन । मलाई काम चाहिन्छ । आफ्नो क्षेत्र र आफूले पाएको जिम्मेवारीमा कामलाई कसरी अघि बढाउने ? कसरी प्रभावकारी बनाउने ? र, कसरी पारदर्शी बनाउने ? भन्ने कुरामा तपाईहरु दृढ हुनु जरुरी छ । जनताका लागि केही न केही योगदान भन्ने मात्र मेरो प्रतिबद्धता छ । यो मेरोमात्र नभएर यहाँहरु सबैको साझा प्रतिवद्धता हुनुपर्छ र हुनेछ भन्ने विश्वास मेरो छ ।

हामीले विगत ६५ वर्षदेखि योजनावद्ध विकास लागु गर्दे आएका छौं । धेरैवटा बजेट कार्यक्रम सञ्चालन भएका छन् । तर, देशको आर्थिक विकास उत्साहप्रद र आवश्यकताको स्तरअनुसार नभएको सबैलाई विदितै छ । आजको चुनौती र जनअपेक्षा भनेको कसरी विकासलाई जनअपेक्षा अनुरुपको स्तरमा पुर्याउने भन्ने हो । यही मर्मअनुसार काम गर्नु साझा अभिभारा, साझा उद्देश्य हो । मेरो पहिलो एजेण्डा यसैमा केन्द्रित हुनेछ । तपाईंहरुको तथा नेपालका अर्थ क्षेत्रका सबै विज्ञहरुको ज्ञान, योग्यता, शिक्षा तथा जनताका आवश्यकतालाई एकाकार गरेर अघि बढाउने प्रतिवद्धता गर्नुपर्ने बेला आएको छ ।

अर्थतन्त्रका विविध चुनौतिहरुलाई सामना गर्न निजी तथा सरकारी क्षेत्र, र अन्य क्षेत्रमा छलफल गर्दै, सहकार्य गर्दै हामीले आर्थिक समृद्धिको मार्गचित्र तयार गर्नु जिम्मेवारी काँध आएकोछ । त्यसका लागि कोभिडको महामारीलाई निराकरण गर्न स्रोत साधानको सदुपयोग तथा शीघ्र व्यवस्थापन आजको राष्ट्रिय आवश्यकता हो ।

आर्थिक समृद्धिका लागि बहुआयामिक क्षेत्रलाई प्राथमिकिकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । हाम्रो आर्थिक वृद्धिदर कमजोर अर्थात् कोभिड महामारी माँझ ४ प्रतिशत छ । यतिबेला ८ प्रतिशत हुनुपथ्र्यो । कमजोर आर्थिक अवस्थाका माँझ सानो अंकको आर्थिक वृद्धिदरले संकटमा रहेको संकेत गर्छ । महामारीको चपेटामा परेको अर्थतन्त्र र अहिलेको राष्ट्रिय संकटबाट कसरी मुक्त हुन सक्छौं ? भन्ने चुनौति हाम्रो मुख्य चुनौति हो । यसमा हामी गृहकार्य गर्नेछौं र योजना बनाउँदै अघि बढ्नेछौं ।
बजेट खर्चको स्थिति संशोधित लक्ष्यहाराहारीमा पुग्दै गरेको स्थिति छ । हाम्रो सरकारी आयले खर्च धान्न गाह्रो छ । यसका लागि पनि योजना बनाउनुपर्ने आवश्यकता छ । खर्च गर्ने स्रोतको उपलब्धता समयमै गराउन सक्ने र रकमको कमी हुन नदिने स्थिति बनाउन अर्थ मन्त्रालयले के भुमिका खेल्ने ? सोच्नुपर्छ ।

निर्धारण गरेको पुँजीगत खर्चको समस्या छ । असारमा बढी खर्च हुने प्रचलन सुधार कसरी गर्न सकिन्छ भन्नेतर्फ सोच्दै छौं ।
देशको व्यापार घाटा डरलाग्दो स्थितिमा रहेको छ । व्यापार घाटालाई सामान्य तरिकाले सन्तुलन गर्न सक्ने अवस्था छैन । विशेष सुधार अभियान आवश्यक हुन्छ । राज्यको, राजनीतिको, नीति निर्माताको, समग्र नागरिकको साझा र दृढ संकल्पबाट मात्र व्यापार घाटा सुधार गर्ने अभियानलाई सफल बनाउन सक्छौं ।

कृषि क्षेत्रमा राम्रो प्रगति भएको देख्दैनौं । कृषिमा प्राथमिकता हुनुपथ्र्यो । हामीले जोडबल गर्नुपथ्र्यो, कृषकलाई प्रोत्साहित गर्नुपथ्र्यो । प्रविधि तथा क्षमताद्वारा उत्पादन वृद्धि गर्नुपथ्र्यो । त्यतातिर पर्याप्त ध्यान पुग्न सकेको छैन । कृषि उद्योगले देशको गाहस्थ उत्पादनमा भनेजस्तो योगदान गर्न सकिरहेको छैन । त्यसो हुँदाहुँदै उद्योगमा प्रगति गर्न सकिरहका छैनौं । निजी क्षेत्रमा निरासा हुने अवस्था त्यतिकै छ । उहाँहरुको गुनासो के छ ? सरकारले सम्बोधन गर्नुपर्ने विषय के हो ? त्यतातिर गम्भीरतापूर्वक छलफल गर्नुछ, हामी सहकार्य गरेरै अघि बढ्ने छौं ।

त्यसैगरी पुँजीबजारलाई उत्साहित बनाउने कुरामा, लगानीका अवसर सिर्जना गर्ने विषयमा हाम्रो ध्यान पु¥याउन जरुरी छ । यी सबै समस्या समाना गर्न हाम्रो संकल्प, प्रतिवद्धता, पारदर्शिता इमानदारिता आवश्यक छ । त्यसको नेतृत्व अर्थ मन्त्रालयले गर्न सक्यो भने गुणात्मक प्रगति हासिल गर्न सक्छौं ।

िवद्वानहरुले भने झैं राष्ट्र निर्माणका लागि संस्थागत सबलीकरण मुख्य कुरा हो । संस्थालाई सक्षम नबनाएसम्म प्रगतिको कुनै पाइला चाल्न सक्दैनौं । अर्थ मन्त्रालय आफैं एउटा संस्था हो । आफू र आफू मातहतका संस्थाको सबलीकरण कसरी गर्ने ? आर्थिक दृष्टिले मात्र होइन । हाम्रा गतिविधि, हाम्रा नीति, कार्यक्रम, राष्ट्रप्रतिको जिम्मेवारी आत्मनिर्भरताका लागि हामीले गर्नुपर्ने योगदान, तमाम कुरा पर्लान् । आज हाम्रो मुख्य कार्यभार संस्थालाई बलियो बनाउने हो, क्षमतालाई उजागर गर्ने हो । यस्ता विषयमा जोड दिन आवश्यक छ ।

तपाईंहरुको ज्ञानको अगाडि मैले भनेका विषय सामान्य हो । तर, तपाईंहरुको ज्ञान र मेरो मनमा लागेका कुराबीच कति तादम्यता छ भन्ने जान्नका लागि मैले यी विषय उठाएको हुँ । हामीले, एकले अर्कालाई बुझेनौं भने, अनुहारको परिचित हैन, उद्देश्यको, संकल्पको, प्रतिवद्धताको परिचित भएनौं भने हाम्रो संस्था बलियो हुँदैन । म तपाईंहरुले दिएको सुझाव नै कार्यान्वयन गर्नेछु ।

हामी कति गरिब भएर बाँच्ने ? साधन स्रोतको सम्पन्नता माँझ कहिलेसम्म गरिब हुने ? हामीले नै गरिबी अन्त्य गर्न सक्छौं । हामीले दृढ संकल्प र चट्टानी अठोट गर्यौं भने छोटो समयमा गरिबी अन्त्य गर्न सक्छौं, आर्थिक समृद्धिको जग हाल्न सक्छौं, अनि जनतालाई उज्यालो प्रकाश दिन सक्छौं ।

मेरो मान्यता के छ भने व्यक्तिगत रुपमा धनी हुनु आवश्यकता हैन । व्यापारिक क्षेत्रका प्रतिस्पर्धीको आफ्नै बुझाइ होला । तर, राजनीतिक क्षेत्र र प्रशासनिक क्षेत्र व्यक्तिगत रुपमा धनी हुनु आवश्यक छैन । संस्थागत रुपमा वा देशलाई धनी बनाऔं । देश धनी भए, हामी स्वतः धनी हुनेछौं । मेरो यही भाव तपाईहरुसँग पनि मेल खान्छ भन्ने मैले विश्वास लिएको छु ।

अब देश यसरी बन्दैन । राजनीतिक पार्टीहरुले आफ्नो स्वार्थ मात्र हेरे भने देश बन्दैन । अहिले वृहत र दीर्घकालीन सहकार्य आवश्यक छ भन्ने यी बीचका काम कारबाही र गतिविधिले महसुस गराएका छन् । हामीले दीर्घकालीन रुपमा वृहत राष्ट्रिय सहमति बनाएर, सहकार्य गरेर राष्ट्रिय आर्थिक नीति बनाएर अघि बढ्न आवश्यक छ । मैले त्यसदिशामा पहल गर्नेछु ।
हाम्रो देशमा गहिरो जरा गाडेको भ्रष्टाचारको समस्या छ । ती समस्या माथि प्रहार गर्न आवश्यक छ । त्यसको लागि हामी सबैले इमान्दारपूर्वक पहल गर्दै अघि बढ्नु आवश्यक छ । भ्रष्टाचारीहरु प्रतिको हाम्रो दृष्टिकोण के हो ? आज यो कुरा जनताले नियालीरहेका छन् । भ्रष्टाचारको चेन अफ कमाण्ड भत्काउन सक्ने र सेटिङलाई रोक्न सक्ने गरी काम गर्नुपर्दछ । हामीले भ्रष्टाचारको समस्या माथि प्रहार गर्न सक्नुपर्छ । काममा ढिलासुस्तीका समस्या छन् । काम समयमा गर्न सक्ने, छिटोछरितो प्रशासनिक क्षमता र प्रक्रिया मिलाउन सक्छौं कि सक्दैनौं ? आज जनताले यो हेरिरहेका छन् ।

आगामी आर्थिक वर्षको बजेट लगायतका विषय छन्, अदालतले केही कुरा बोलिसकेको छ । त्यसमा पनि हामी बिचार गर्नेछौं । नयाँ सरकारको आवश्यकताको कुरा पनि छ । सरकारको भिजनको कुरा पनि छ । बजेटको सन्दर्भमा छलफल गर्नुपर्ने नै छ । हामीसँग धेरै ठूलो जिम्मेवारी छ ।


म अर्थशास्त्रको विज्ञ होइन, विश्वविद्यालयमा ठूलो अध्ययन गरेर आएको व्यक्ति पनि होइन । तर, समस्या कहाँ छ त्यसको पहिचान गर्न सक्छु । तपाईंहरुको सहयोग चाहिन्छ । सामान्य क्षमता र ज्ञान भएको साथी पाउनु भएको छ । तपाईंहरुले मलाई कति परिचालन गर्न सक्नुहुन्छ । कति सहयोग गर्न सक्नुहुन्छ । त्यसले तपाईं हाम्रो साझा पहलमा उपलब्धि दिन सक्छौं ।
जनतामा ठूलो आशा छ । केही सुधार केही प्रगति हुनेछ भन्ने अपेक्षा जनताले गरेका छन् । हरेक वर्गले विश्वासको आँखाले हेरिरहेका छन् । व्यवसायी व्यापारीले विश्वासका साथ हामीतर्फ फर्किएका छन् । यी सबै विषयमा गम्भीरतापूर्वक सहकार्य गर्न म सबैलाई आह्वान गर्दछु ।

म सबैका सुझावलाई ग्रहण गर्न तयार छु । प्राप्त सुझावहरुलाई एकठाउँमा राखेर सही र देश जनताको पक्षमा आएका सुझावहरुलाई कार्यान्वयन गर्दै राष्ट्र र जनताको हितमा नीति निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*