भ्याट छलीका नाइके र तस्करीका अभियुक्तले भेटे अर्थमन्त्री

३ श्रावण २०७८, आईतवार २३:१९

काठमाडौं । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगै अर्थमन्त्रालयमा पुगेका भ्याट छलीका नाइके र तस्करीका अभियुक्तले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका हुन् । परिसंघको आवरणमा उनीहरुले अर्थमन्त्री भेटेका हुन् । कोरोना महामारीमा थर्मल गनको कालोबजारीमा संलग्न अभियुक्त सुलभ अग्रवाल र भ्याट छलीका नाइके मोरङ अटो वक्र्सका मालिक विष्णु अग्रवालले अर्थमन्त्री शर्र्मासँग आज भेटवार्ता गरेका हुन् ।

अर्थमन्त्री शर्माले उनीहरुसँग व्यक्तिगत रुपमा भेटघाटन गरेको नभई नेपाल उद्योग परिसंघका प्रतिनिधिका रुपमा उनीहरुसँग भेटवार्ता गरेका हुन् । कडा स्वभावका नव नियुक्त अर्थमन्त्री शर्मालाई मन्त्रालय पुगेर बधाई दिने क्रम जारी छ । सो क्रममा हालैमात्र सेटिङमा बीमा समितिबाट लाइसेन्स पाएको हिमालयन रि नामक पुनर्बीमा कम्पनीमा दुई अर्ब ३३ करोड रुपैयाँको लगानी गरेका सुलभ अग्रवाल समेतसँग भेटवार्ता भएको छ ।

हिमालयन रि मा अर्बौ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परिसकेको छ । सो सम्बन्धमा अन्तिम निर्णय आइसकेको छैन । बीमा समिति देखि अर्थमन्त्राय र यसअघिका अर्थमन्त्री विष्णु पौडेलको सेटिङमा भएको सो काण्डमा अर्थमन्त्रालयका र बीमा समितिका कर्मचारीहरुको पनि संलग्नता रहेको छ ।

त्यस्तै आजै परिसंघका प्रतिनिधिको रुपमा अर्थमन्त्री शर्मासँग भ्याट छलीका नाइके विष्णु अग्रवालले भेटवार्ता गरेका हुन् । नेपाल सरकारले सार्वजनिक गरेको ५७६ वटा भ्याट छली गर्ने कम्पनीको लिष्टमा अग्रवालको मोरङ अटो वक्र्स पनि समावेश छ । अग्रवालले सो कम्पनी बन्द गरेका छन् । अर्बौ रुपैयाँ राज्यलाई बुझाउनुपर्ने भ्याट नक्कली बिल देखाएर छली गरेपछि सो कम्पनी बन्द गरी एमएडब्लु नामक कम्पनी बनाएर यामाहा बाइकहरुको व्यवसाय गर्दै आएका छन् ।

आज भएको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको भन्दै निजी क्षेत्रले अघि बढाएको अभियानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री शर्माले आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैं साथमा लिएर अघि बढ्ने बताए । मन्त्री शर्माले उद्यमीहरुसँग भने ‘सरकारको उद्देश्य अर्थतन्त्रको सबलीकरण नै हो, निजी क्षेत्रका लागि लगानीको वातावरण तयार गर्न र नीतिगत सहजीकरण गर्न हामी सदैव तयार छौ्रं । तपाईंहरूले लगानी बढाउनुस् ।’

तस्विर सौजन्यः सिएनआई । बायाँबाट तेस्रोमा सुलभ अग्रवाल हुन् भने दायाँबाट तेस्रो विष्णु अग्रवाल हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*