निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग अर्थमन्त्री शर्माको भेट

८ श्रावण २०७८, शुक्रबार १०:४१

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी महासंघको पदाधिकारीसँग हिजो भेटवार्ता गरेका छन् । सो अवसरमा अर्थमन्त्री शर्माले निर्माण व्यवसायी बिना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा रहेको टोलीले अर्थमन्त्री शर्मासँग भेटवार्ता गरेको हो । सो भेटमा अर्थमन्त्री शर्माले स्वच्छ, प्रतिस्पर्धासहित व्यावसायिक क्षमता अभिबृद्धि गर्दै निर्माण व्यवसाय अघि बढाउन सबैलाई आह्वान गरेका छन् । सो क्रममा निर्माण व्यवसायीहरुले भने एस बिडी (स्ट्याण्डर्ड बिडिङ डकुमेन्ट) मा गर्नुपर्ने संशोधनको सुझाव दिएका छन् । सो क्रममा केही व्यवसायीमा आयोजनाको ठेक्का लिने तर काम नगर्ने परिपाटी देखिएको भन्दै मन्त्री शर्माले काम एउटा व्यवसायीले लिने तर कार्यक्षेत्रमा अर्कालाई खटाउनु ठीक नभएको बताए ।

नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै प्रतिनिधिमण्डलले निर्माण व्यवसायीको समस्या र समाधानका उपायबारेसमेत जानकारी गराएको महासंघले जनाएको छ । प्रतिनिधिमण्डलले अर्थमन्त्रीका रूपमा शर्माको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको महासंघका अध्यक्ष रवि सिंहले बताए । प्रतिनिधिमण्डलले बजेटसँग सम्बन्धित म्याद थप, धरौटी रकम फिर्तालगायतका विषयमा अर्थमन्त्री शर्मासमक्ष लिखित सुझाव पेश गर्दै कार्यान्वयनका लागि आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलले आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा निर्माण आयोजनाको छ महिना म्याद थप हुने व्यवस्था भएकामा कोभिडको दोस्रो कहर, वर्षात्को मौसम, यामअनुसार हुने कार्य र त्यसपछिका चाडबाडका कारण आउँदो कात्तिक महिनाको अन्त्यसम्म शून्य समय (कन्स्ट्रक्सन होलिडे) मानेर तत्पश्चात् सम्पूर्ण ठेक्काको हकमा सम्बन्धित सार्वजनिक निकायका अधिकारीले निर्णय गरेको मितिबाट गणना हुने गरी स्वतःएक वर्ष म्याद थपको नीतिगत निर्णय गरिनुपर्ने सुझाव दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*