अर्थमन्त्री शर्माद्वारा पूर्व अर्थमन्त्रीहरुसँग छलफल, बजेटबारे सुझाव माग

११ श्रावण २०७८, सोमबार ०७:३२

काठमाडौं । मानिसहरु कुनै पदमा पुग्नै वित्तिकै म जत्तिको जान्ने सुन्ने अर्को छैन र मैले गरेका सबै कुराहरु तत्काल लागू हुनुपर्दछ भन्दै भाषण ठोक्न थाल्छन्, जब आवश्यक अध्ययन बिना नै प्रयोगमा ल्याउन नसकिनेहरु नीतिहरु कार्यान्वयनमा लानुपर्ने अवस्था आउँछ, त्यहाँ समस्या उत्पन्न हुन्छ । तर, वर्तमान अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्राय सम्हालेदेखि नै लगातार छलफल र अन्तरक्रियामा छन् । उद्योगी, व्यापारीहरुको टोलीसँग निरन्तर छलफलपछि हिजो अर्थमन्त्रालयमा फरक दृष्य देखियो । विषयवस्तुको गहिराईसम्म पुग्ने र ठोस निर्णय लिने कुशल व्यक्तित्वका परिचय बनाएका नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पूर्व अर्थमन्त्रीहरुसँग लामो छलफल गरेका छन् । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, आफ्नै पार्टीका सहकर्मी तथा पूर्व अर्थमन्त्री वर्षमान पुनः, पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालालगायतका पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेका छन् ।

विगतमा अर्थमन्त्रालय सम्हाल्दाका अनुभव राम्रो काम सुरु गरेपनि फत्ते गर्न बाँकी रहेका विषयहरु तथा अर्थमन्त्रालयले आगामी दिनमा अंगाल्नुपर्ने भावी योजनाहरुका बारेमा छलफल गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रलाई गतिशील बनाउन लिनुपर्ने रणनीतिका बारेमा पूर्व अर्थमन्त्रीसँग छलफल गर्दै अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधनका बारेमा समेत उनले राय लिएका थिए ।

छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुँजीगत खर्च नबढ्नुमा विकासे मन्त्रालय वा अर्थ मन्त्रालयको पनि कुनै कमजोरी छ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै, व्यापार क्षेत्रबाट रोजगारी सिर्जना नहुने भएकोले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् ।

सो छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री वर्षमान पुनले उत्पादनमूलक उद्योगको क्षेत्रमा गरिने लगानीमा केही समय स्रोत नखोज्ने नीति अख्तियार गरेर अघि बढेमा अर्थतन्त्र बलियो बन्न सक्ने सझुाव दिएका छन् । कोभिडको असर अझै बाँकी रहेको र तेस्रो लहरको खतरा समेत देखिने अनुमान भइरहकोले राष्ट्रिय गौरवका आयोजना र अन्य केही प्राथमिकताका आयोजनामा ध्यान केन्द्रीत गरी खोप खरिदलाई प्राथमिकता दिनुपर्ने सुझाव अर्थमन्त्रालयलाई दिएका छन् ।

सुझाव दिन पुगेका पूर्व सचिव तथा दोस्रो संविधानसभाको खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अध्यादेश बजेट नै अघि बढाउनुपर्ने अवस्था आएमा त्यसको पुरकको रुपमा केही आर्थिक कार्यक्रमहरु समेटिएको नीतिपत्र जारी गरेर काम गर्न सकिने सुझाव अघि सारेका छन् ।

अर्को बजेट ल्याउन सम्भव नदेखिएको भन्दै उनले कृषि, जलस्रोत, पर्यटन, हस्तकला र जडिबुटीजन्य उद्योगलाई प्राथमिकतामा राखेर काम गर्न सकिने धारणा प्रस्तुत गरेका छन् । सो छलफल कार्यक्रममा अर्थ सचिव शिशिर कुमार ढुंगानाले देशको अर्थतन्त्रको संक्षिप्त झलक प्रस्तुत गरेका थिए । छलफलमा अर्थमन्त्री शर्माले बजेटबारे सुझाव मागेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*